शनिबार १५ माघ २०७८

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवोदी) का अध्यक्ष माधवकुमार नेपालले पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई घरमै पुगेर समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष नेपालले त्रियुगा नगरपालिका ११ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

शनिबार पिकनिक जाँदा पौडी खेल्ने क्रममा डुबेर मेयर चौधरीका २८ वर्षीय छोरा मनोज चौधरीको मृत्यु भएको थियो । पुत्रशोकमा परेका पार्टीका प्रदेश १ को अध्यक्षसमेत रहनु भएका मेयर चौधरीलाई अध्यक्ष नेपालले सान्त्वना दिनुभयो । चौधरी पुत्रको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँ त्रियुगा नदीको घाटसम्म नै मलामी पनि जानुभयो ।

हेलिकेप्टरबाट पौने १२ बजे गाईघाट उत्रनुभएका नेपालले करिब दुई घण्टा बिताएर समवेदना प्रकट गरी काठमाडौं फर्कनुभयो । समवेदना बाहेक कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रमहरु केही नगरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । प्रवक्ता खतिवडा पनि अध्यक्ष नेपालसँगै आउनुभएको थियो ।

सम्बेदना दिन संघिय सांसद सुरेश कुमार राई पनि आईपुगेका थिए । संघीय सांसद राई मलामी पनि गएका थिए । यस्तै सम्बेदना दिन प्रदेश नं. १ का मुख्य मन्त्री राजेन्द्र राई पनि मेयर चौधरीका घर साँझ आइपुगेका थिए । उनले मृतक मनोजको तस्विरमा माल्य अर्पण गर्दै श्रद्धाञ्जली दिएका थिए । मुख्यमन्त्रीका साथै प्रदेश नं. १ का भौतिक विकास पूर्वाधार मन्त्री हिमाल कार्की पनि घरमै पुगेर सम्बेदना प्रकट साथै मलामी कार्यक्रममा सहभागी भएका थिए ।

यस्तै नेकपा एसका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश सचिव महेश रेग्मी लगायत छिमेकी जिल्लाका नेता कार्यकर्ताहरुको मलामीका बाक्लो उपस्थिति रहेको थियो ।


Last Updated on: November 22nd, 2021 at 5:05 pm
९१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया