मंगलबार ११ माघ २०७८

आइतबार बिहान ५ बजे कुखुरा भालेको डाँकोसँगै निद्रा खुल्यो। नित्यकर्म सकेर कान्देश्वरी आधारभूत विद्यालयको कुमार बलराम स्मृति छात्राबासबाट म ओरालो लागें। जुनेली रात भए पनि ठूला-ठूला रूखले जुनको प्रकाश छोपिदिएका थिए।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले टर्च लाइट बालेर गोरेटो देखाइदिए। छात्राबासबाट करिब दुई सय मिटर तल विद्यालय भवन छ। भवन छाडेर करिब २ मिनेट ओर्लिएपछि फेरि एउटा भाले बास्यो। दशरथ चेपाङले पालेको बढेमानको भाले रहेछ। गोरेटो आडैको खरले छाएको छाप्रो र पर्खाल नलगाइएको धन्सार दशरथको हो।

छाप्रोको मूल ढोकामा पखेंटा फिँजाइरहेको थियो खाइलाग्दो रातो भाले। मेरो ध्यान भने छाप्रोसँग जोडिएको धन्सारको बीच भागमा रहेको अगेनोले तान्यो। अगेनोमा आगो बलिरहेको थियो। अगेनो वरिपरि थिए साना केटाकेटी। उनीहरू नजिकै दर्जन बढी कुखुरा र चल्लाहरू भुइँ खोस्रिँदै थिए।

एक थान च्यातिएको र मैलो कपडाले पूर्णसिंगको शरीरको माथिल्लो भागको करिब आधा हिस्सा ढाकेको। आधा हर कपडाविहीन छ वर्षीया छोरी बागमती भने भाले बास्नुअघि नै जागेकी थिइन्। राति सुत्दा बलिरहेको आगो निभेको केही समयमा उनी ब्युँझिएकी थिइन्। १३ वर्षीया दिदी मुरलीलाई पनि उठाइन्। दिदी–बहिनी मिलेर आगो बाले। उही छानोमुनि सुतेका दशरथ र उनका दुई श्रीमती सबेरै गाई वस्तुको स्याहार गर्न निस्किसकेका थिए।

हामीलाई देखेपछि दशरथ घरमा आइपुगे। ‘हाम्रो त सुत्ने ठाउँ नै यही हो। ओड्ने, ओछ्याउने केही छैन, खरको छानोमुनि रातभरि आगो बाल्न भएन,’ दशरथले भने, ‘यो खुला घरको माझमा आगो बाल्यो, वरिपरि सुत्यो।’ उनीसँगै आइपुगेकी जेठी श्रीमती बैरी केटाकेटीलाई सुम्सुम्याउन थालिन्। केहीबेरमा एक वर्षे दुधे बच्चा च्यापेर दशरथकी कान्छी श्रीमती सिर्जुमाया पनि आइपुगिन्।समुद्र सतहबाट करिब चौध सय मिटर उचाइमा रहेको कान्दास्थित दशरथ चेपाङको घरमा पुसको चिसो रात कटाउने साधन हो आगो। रात कटाउन अगेनाको डिलमा सुत्नु यो परिवारको बाध्यता हो। ‘छोरा, छोरीलाई न्यानो कपडा लगाइदिने, विस्तारामा सुताउने मन त कसलाई हुन्न र?,’ दशरथले भने, ‘नाम त भगवान रामकै बावुको पाइयो तर भाग्य यस्तो मिल्यो।’ उनले मन भएर पनि छोरा, छोरीलाई एक सरो लुगा किनिदिन नसकेको बताए। नुन, तेल, चामल किन्न उनले कुखुरा, बाख्रा पाल्ने गर्दा रहेछन्।

‘यिनै कुखुरा, बाख्रा हुर्काउँदै बेचेर परिवारलाई खानाको जोहो गर्नुपरेको छ,’ उनले भने, ‘यिनलाई पनि हुर्काउन नसके त खानै पाइँदैन।’ उनले अन्न सकिएपछि जंगलबाट गिठा, भ्याकुर, सिस्नु ल्याएर भएपनि परिवारलाई खुवाउने गरेको सुनाए। २०७२ सालको वैशाखमा भूकम्प जाँदा दशरथको घरभित्रको अगेनामा गिठा पाकिरहेको थियो। खरले छाएको उनको घर भूकम्पले गर्ल्याम्म ढलाइदियो। अगेनाको आगोले खर, डाँडा, भाटा, काठमा सल्क्यो। ‍सबै जले। घरभित्र रहेका मकै, कोदो पनि आगोले खाइदियो।

भूकम्पले उठीबास लगाएको उनको परिवारले केही दिन छिमेकीको साहरा लिए। केही समयमा दशरथले खरकै छाना भएको एउटा सानो झुप्रो ठड्याए। ९ जनाको परिवारका लागि यो झुप्रो असाध्यै सानो थियो। भूकम्प पूनर्निर्माण प्राधिकरणको मापदण्डभित्र परे पनि उनले घर बनाउनका लागि आवश्यक कागजपत्र जुटाउन सकेनन्।केही छिमेकीले दुइटी श्रीमती भएका कारण सरकारी अड्डा धाउँदा कानुनी झण्झट आइलाग्न सक्ने सुनाइदिएपछि उनी त्यसतर्फ लाग्न चाहेनन्।

पछि सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानका प्रमुख विष्णु गौतमले नयाँ घर बनाउनका लागि जस्तापाता दिने भए। दशरथले घरका लागि आवश्यक पर्ने काठहरूको जोहो गरे। जस्तापाताले छाएर घर ठड्याए। तर घरमा गारो लगाउन अझै सकेका छैनन्। यही खुला घरलाई धन्सार भन्छन् उनी। ‘खरको घरमा सबै अट्दा पनि अटाइन्न, यही खुला धन्सारमा सुतेरै रात कटाइरहेका छौं,’ उनी भन्छन्, ‘खान, लाउनको साह्रै दुःख छ। केले घर बार्नु र खोई।’


Last Updated on: December 29th, 2021 at 11:02 am
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया