मंगलबार ११ माघ २०७८

कैलाली। चिसोमा कठ्यांग्रिएका कैलाली कञ्चनपुरका ३ सहित ५ जनाको उद्धार गरिएको छ । सडकआश्रित मानिसहरूको उद्धारका लागि मेची महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टिमले पहिलो दिन ५ जनाको उद्धार गरेको हो।

१८ गते बिहान महाकाली पुलबाट सुरु भएको यात्राका यात्रीहरूको टिमले पूर्व पश्चिम राजमार्गको यात्राको क्रममा ५ जनाको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय सदस्य एवं मेची महाकाली यात्रा – २०७८ का संयोजक आदर्श ढकालले बताए। ‘हामीले नियमित रुपमा देशका ७७ वटै जिल्लाहरूबाट सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गर्दै आइरहेका छौँ ।

तर यस चिसो मौसममा सहयोगापेक्षी व्यक्तिहरूको उद्धारका लागि र अघिल्ला वर्षहरूमा जस्तो सडकपेटीमा नै चिसोका कारण कसैको पनि मृत्यु नहोस् भन्ने सन्देश दिनका लागि यात्रा गर्न लागिएको हो,’ उनले भने ।

उनीहरूमध्ये एक जना कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं. ३ बाट, दोश्रो कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका चिसापानी स्थित कर्णाली पुलबाट, तेश्रो कैलालीकै झलारी शुक्लाफाँटा नगरपालिकाबाट, चौथो दाङको लमही नगरपालिका वडा न. ९ बाट र पाँचौलाई लमही नगरपालिका वडा नं. ३ बाट उद्धार गरिएको हो ।

उद्धार गरिएका पाँच जना नै मानसिक रुपमा अस्वस्थ रहेको र उनीहरूलाई स्वास्थ्य उपचार पश्चात परिवार भेटिएको अवस्थामा पारिवारिक पुनर्मिलन गरिने यात्री स्वस्तिका भट्टराईले बताइन्।मानवसेवा आश्रमले परिवार र आफन्त भएका व्यक्तिहरूको सन्दर्भमा परिवारलाई नै जिम्मेवारीबोध गराउने र जसको कोही छैन उनीहरूको उद्धार र संरक्षण गर्ने गरेको ढकालले जानकारी दिए।

मानवसेवा आश्रमले यसअघि पनि चिसो मौसममा सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी व्यक्तिहरूको उद्धारको लागि २०७७ साल पौष ७ गतेदेखि माघ १५ गतेसम्म मेची महाकाली यात्रा गरेर ७५८ जनाको उद्धार गरेको थियो । मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ । १३ दिनसम्म चल्ने यात्रा माघ १ गते समापन हुने छ ।


Last Updated on: January 7th, 2022 at 12:53 pm
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया