मंगलबार ११ माघ २०७८

विश्वमै पहिलो पटक सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण गरिएको छ । टर्मिलन मुटुरोग भएका एक अमेरिकीमा सुँगुरको मुटु प्रत्यारोपण सफल भएको रोयटर्सले जनाएको छ ।

रोयटर्समा प्रकाशित खबर अनुसार अणुवंशिक रुपमा परिवर्तन गरिएको सुँगुरको मुटु मेरिल्याण्ड मेडिसिन विश्वविद्यालयको टिमले शल्यक्रिया गरी प्रत्यारोपण गरेको हो ।

शल्यक्रिया गरिएको तीन दिनपछि सोमबार विश्वविद्यालयले वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको छ । बिरामीले स्वास्थ्यलाभ गरिरहेको चिकित्सकले बताएका छन् ।

यो प्रत्यारोपण सफल भएपछि वैज्ञानिकहरुले बताएका छन् कि सुँगुरले अंगदाताको अभावलाई पूर्ति गर्नेछ ।

‘यो एउटा ब्रेक थ्रु शल्यक्रिया हो’ यस प्रत्यारोपणमा सलग्न डाक्टर बार्टले ग्रिफिथ भन्छन्, ‘अंगको अभाव हुने समस्यालाई हल गर्न हामी एक कदम अघि बढेको छौँ।’

मुटु प्रत्यारोपण गर्न चाहने बिरामीको सूची लामो भएको र त्यो अनुसार अंगदाता नभएकोमा यसलाई सुँगुरले पूर्ति गर्ने विश्वास डा.ग्रिफिथले गरेका छन् ।

‘हामी सावधानीसँग अघि बढिरहेका छौँ । हामी आशावादी छौँ कि यो पहिलो शल्यक्रिया भविष्यमा मुटुरोगीका लागि महत्वपूर्ण विकल्प बन्नेछ’ डाक्टर ग्रिफिथले भनेका छन् ।

सुँगुरको मुटु लिने व्यक्ति मेरिल्याण्ड निबासी डेभिड बेनेट हुन् । ५७ वर्षीय बेनेटको ज्यान बचाउन मृटु प्रत्यारोपण मात्रै अन्तिम विकल्प थियो ।

विश्व विद्यालयले जारी गरेको विज्ञप्ति अनुसार शल्यक्रियाअघि बेनेटले सुँगुरबाट मुटु लिनु आफ्नो अन्तिम छनोट भएको बताएका थिए । ‘कि मेरो मृत्यु भयो कि प्रत्यारोपण सफल भयो’ शल्यक्रियाको अघिल्लो दिन बेनेटले भनेका थिए, ‘यो अँध्यारोमा हानिएको एउटा गोली हो, तर यो मेरो अन्तिम छनोट हो।’

प्रयोगात्मक शल्यक्रियाका लागि मेरिल्याण्ड विश्वविद्यालयलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन(एफडीए)ले आपतकालीन अनुमति दिएको थियो।

 

बचाउनका लागि यसबाहेक कुनै विकल्प नभएका व्यक्तिमा प्रयोग गर्न एफडीएले अनुमति दिएको वक्तव्यमा भनिएको छ ।

बेनेटको शरीर अनुसार अणुवंशिक रुपमा तयार पारेको सुँगर भर्जिनियाको ब्लाक्सबर्गमा रहेको एक पुनरुत्पादक औषधि कम्पनीले दिएको थियो ।

अमेरिकामा अहिले पनि १ लाख १० हजार भन्दाबढी व्यक्तिहरु अंग प्रत्यारोपणको पर्खाइमा रहेको त्यहाँको सरकारी तथांकले देखाउँछ । यहाँ हरेक वर्ष करिब ६ हजार बिरामीहरुको अंग प्रत्यारोपण गर्न नपाएर मृत्यु हुन्छ ।

सुँगरलाई मानव अंग प्रत्यारोपणका लागि उपयुक्त मानिदै आएको छ । वयस्क मानव र सँगुरका अंगको आकार मिल्दोजुल्दो रहेको वैज्ञानिकहरुले भनेका छन् । यसअघि मानवमा सुँगरबाट सफल मिर्गौला प्रत्यारोपण समेत गरिएको छ ।


Last Updated on: January 11th, 2022 at 1:05 pm
५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया