सोमबार ११ आश्विन २०७८

पोखरा । सयौं भेडाबाख्राको हुल । भेडाहरुलाई पछ्याउँदै हिंडिरहेका चार भोटेकुकुर । भेडाहरुको चाल र घाँटीमा झुन्डाइएको घन्टीबाट आवाज आउँदा गाउँ नै संगीतमय हुन्थ्यो । भेडाका बथानै लिएर गाउँ पस्दा सबैले सबै भन्थे, ‘अहो ! लिलेका भेडा त सप्रिएछ । भेडालाई माया गर्न त जानेकै हो ।’

हुन पनि कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका लीलप्रसाद गुरुङको जीवनै भेडाको पछि बित्यो । दाजुभाइहरु पढ्न स्कुल जाँदा पनि उनी भेडा चराउनै गए, अर्को ‘इलम’ सोचेनन् । भेडाको संख्या बढाउने र डाँडापाखा डुल्ने मात्रै सपना थियो ।

गएको दशैंमा पनि गुरुङ भेडाबाख्रा जम्मा गरेर गाउँ आएका थिए । छरछिमेकी र गाउँलेले ‘दशैं मनाउन’ भेडा माग गरे । तर, उनले प्रस्ताव नकार्दै भनेका थिए, ‘हुँदैन । भेडा अझै थप्ने हो । बेच्दिनँ, अरुसँगै किन्नुस् ।’

गुरुङले भेडा नबेचेपछि अर्कै व्यापारीसँग किनेर दशैं मनाए । उनी भने आफ्नो भेडा बचेकोमा मख्ख भए । केही दिनमै गाउँमा बाघ पस्यो । ७ वटा भेडा बाघको आहारा बने । पुसको सुरुमा मात्रै गुरुङका भेडाहरुमा रोग देखियो । एक–दुई गर्दै १५० भन्दा बढी भेडा मरे ।

के रोग थियो, उनलाई अझै थाहा छैन । हिउँद सुरु भइसकेको थियो । यामअनुसार खर्कका गोठमा स्थानान्तरण गर्नुपर्ने थियो । गन्तव्य बन्यो, कोरी हिमालसम्म । पुसको १० गते उनी आफ्ना ३५० भेडाबाख्रा र ४ वटा कुकुरसहित उकालो उक्लिए ।

गुरुङको गोठ हुगुमा थियो । उनी अर्का भेडा गोठाला र दुई जना कामदारसँग क्हपुचेतर्फको बाटो सोझिए । त्यहाँ उनले तीन वर्षअघि मात्रै नयाँ रैथाने गोठ बनाएका थिए । ‘कोरीसम्म पुग्न धेरै बाटो छन् । पहिले पनि अर्कै बाटोबाट जान्थ्यौं । गोठ बनिसकेपछि त्यो बाटो हिंड्नै पर्‍यो,’ गुरुङ सुनाउँछन् ।

जेठको अन्तिम सातातिर गाउँमा काम पर्‍यो । भेडाहरु तीन जनालाई जिम्मा लगाएर गुरुङ ३१ गते गाउँ फर्किए । गाउँ आइपुग्दा भारी वर्षा भइरहेको थियो । असार २ गते बिहानै हुगुको एक होटलबाट खबर आयो, ‘बौला खोला बौलियो । पहिरो गयो । जम्मै भेडाबाख्रा पुर्‍यो । भेंडी गोठको नामनिशान छैन । तीन जना गोठाला उतै फसेका छन् । आउन सक्ने अवस्था छैन ।’


Last Updated on: August 21st, 2021 at 4:01 pm
५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया