शुक्रबार ०८ आश्विन २०७८

५ भदौ, पोखरा । स्याङ्जाको दहथुम माविमा कक्षा १० मा पढिरहेकी मञ्जु काफ्लेले गएको २ वर्षदेखि जिन्दगीमा नसोचेको पढाइ पद्धति अपनाउनुपर्‍यो ।साथीहरुसँग हाँस्दै, खेल्दै स्कुल जाने गरेकी उनलाई कोरोना महामारी फैलिएपछि गरिएको लकडाउनले रोकिदियो । तयसपछि अनलाइन कक्षा कक्षा लिन थालिन् ।नयाँ शिक्षण पद्धति भएर पनि होला, सुरुमा साह्रै अप्ठेरो प¥यो । तर, जब यही वैकल्पिक शिक्षण पद्धतिमा अभ्यस्त हुन थालिन्, अर्कै समस्या आइलाग्यो । ‘जुम’ कक्षा लिइरहेकै बेला कहिले लोडसेडिङ त कहिले इन्टरनेट ढिलो भएर समस्या भयो ।‘धेरैजसो लाइन जान्छ । भनेको कक्षा राम्रोसँग लिनै पाइँदैन । लाइन गएपछि सँगसँगै आफूले चलाइरहेको वाइफाइ पनि जान्छ,’ काफ्ले भन्छिन्, ‘डाटा लिएर चलाउँदा पनि उस्तै समस्या !’ अनलाइन कक्षा आफूमात्रै नभएर साथीहरुले पनि राम्ररी लिन नपाएको उनको गुनासो छ ।स्याङ्जा, भीरकोट नगरपालिका–१० मा पर्ने दहथुम माविमा अध्ययनरत विद्यार्थीले लकडाउनभरि अनलाइन कक्षाका नाममा यस्तै तनाव भोगेर बिताए । तर, शनिबार स्कुलमा पुग्दा उनीहरुको अनुहारमा अर्कै रौनक थियो । हातहातमा मोबाइल समातेर कक्षा लिइरहेका थिए, न त्यहाँ मोबाइल डाटा खुला थियो न वाइफाइ ।गण्डकी प्रदेशको सहयोगमा दहथुम माविले प्रदेशभरिमै पहिलो पटक ‘अफलाइन’ कक्षाको परीक्षण गरेको छ । पिडी स्मार्ट एजुकेसन संस्थाको सहयोगमा दहथुममा ‘ईगुरु’ अफलाइन कक्षाको परीक्षण सुरु भएको हो । उक्त एप सफल भएमा विद्यार्थीले पाठ्यपुस्तक इन्टरनेटबिनै पढ्न पाउने छन् ।अफलाइन कक्षा एप डाउनलोड गरेपछि अब आफूले चाहेकै बेला आफूले पढ्न पाउने कक्षा १० मै पढिरहेकी प्रतीक्षा थापाले सुनाइन् । ‘एपले धेरै सहज बनाएको छ ।गाउँगाउँमा सबैसँग अनलाइन कक्षा लिन इन्टरेनेटको पहुँच थिएन । अब नबुझेको कुरा पनि पटक पटक आफैं सुनेर बुझ्न पाइने भो,’ उनले भनिन् ।


Last Updated on: August 21st, 2021 at 9:23 pm
३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया