शुक्रबार ०८ आश्विन २०७८

मेरो गर्भमा रहेको बच्चाले यस धरतीमा पहिलो पाइला राख्दै छ । यो माटोमा प्रथमपटक टेक्ने उसको कोमल खुट्टाको कल्पना गरेर बस्छु । उसको पाइला कहाँ पुग्ला, कस्तो मान्छे बन्ला, कसरी जिउँछ होला ! ऊ एउटी आमाको सन्तान मात्रै होइन, सपना पनि हो ।

ऊ जन्मिसकेपछि कस्तो होला, कसरी हेरचाह गर्ने भनेर सोचिसकेकी छैन मैले । त्यही वेला थाहा होला । तर, जिन्दगी त उसको हो । ऊ आफ्नै मर्जीमा बाँच्ने हो उसले । ऊ आफ्नै सपनासँग जिउने हो । भोलि उसको आफ्नै पहिचान, तरिका र शैली हुन्छ । यो संसारमा उसलाई स्वागत गर्न व्यग्र प्रतीक्षारत छु ।

उसको स्वभाव, बानीबारे केही सोचेकी छैन । ऊ नजन्मिएसम्म यसबारे केही भन्न सकिन्न । बच्चा जन्मेपछि उत्तरदायित्व हुन्छ, जिम्मेवारी हुन्छ, त्यो निर्वाह गर्नुपर्छ । रातभरि रुन सक्छ अथवा आनन्दले निदाउन पनि सक्छ ।

दुःख दिने पनि होला अथवा नदिने पनि होला । अहिले नै केही अनुमान गरेकी छैन । त्यो आफैँले प्रत्यक्ष भोगेपछि मात्रै थाहा हुने हो । जस्तो बानी भए पनि ९ महिना गर्भमा बोकेर जन्माएको बच्चा एउटी आमाका लागि सबैथोक हो ।

म पेटमा चलमलाएको बच्चालाई सुम्युम्याउँछु । बच्चालाई सुमसुम्याउँदा भावुक पनि हुन्छु । सँगै उत्साहित पनि हुन्छु । सोच्छु, उसले आफ्नो नामलाई अगाडि लैजानेछ साथै हाम्रो नामलाई पनि ।

यो बच्चा श्रीमान् र मैले मायाले हुर्काएको सपना हो । चाहे सानो हुँदा होस् वा ठूलो हुँदा, जीवनभर सँगै हुनेछ । त्यसैले पनि उसलाई जन्म दिँदा सोच विचार गरेर नै जन्म दिइएको हुन्छ । अहिले त मेरो पेटमा आठ महिनाको भइसक्यो ऊ । जब म बच्चाबारे सोच्छु, एकदमै भावनात्मक हुन्छु । मातृत्व जागेर आउँछ ।

यो धरतीमा नयाँ जीवनलाई ल्याउँदै छु भन्ने भावनाले ‘पावरफूल’ फिल गराउँछ । भोलि ऊ खुसी हुने आफ्नै कारण हुन्छन् । उसको रुचि र चाहना आफ्नै हुन्छ । जबजब म ऊ पनि मजस्तै अर्को मानिस हो भन्ने सोच्न थाल्छु, इमोसनले भरिएको फिल आउँछ ।

तर, नाम के राख्नेबारे सोचेकी छैन । नामचाहिँ सोचेरै राख्ने विचारमा छु । नाम राख्दा त परम्परा पनि पछ्याउनुपर्ने होला । अग्रजहरू हुनुहुन्छ, त्यहीअनुसार राखिन्छ होला । अखिरीमा आफ्नो नाम त उसैले नै चम्काउने हो । नयाँ पत्रिका दैनिकबाट साभार


Last Updated on: August 22nd, 2021 at 2:10 pm
२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया