सोमबार ११ आश्विन २०७८

कास्की । अविरल वर्षाका कारण पोखराको मुटु महेन्द्रपुलमा जमिन भासिएको छ । भीषण बर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आइतबार राति मूख्य सडकमा भ्वाङ परेको छ ।

अविरल वर्षासँगै आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भासिएको हो ।पोखरामा साँझपखबाट शुरु भएको भीषण वर्षासँगै आएको ठुलो भलका कारण घर नजिकैको सडक भासिएपछि स्थानीयवासी त्रसित बन्न पुगेका छन् ।

पोखराको उतरी क्षेत्र विन्ध्यबासीनी मन्दिर र नदीपुर हुँदै आएको भलपानी भास्सिएको जमिनमा पसेपछि स्थानीयवासीले खतरा महशुस गरेका हुन् ।सडकमा करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको छ । जमिन भास्सिने क्रममा बिद्युत र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि असर परेको छ ।

सडक भास्सिदा पार्किङ गरी राखिएको नानो कारको केहि भाग धस्सिएपनि तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका छन् ।रातिको समय जनैपूर्णिमाको बेला सडक भास्सिएर घर नै जोखिममा परेपछि स्थानीयवासीहरु पानीमा रुझ्दै र भिज्दै प्रहरीहरुसँगै भल तर्काउन लागि परेका थिए ।

अबिरल बर्षा का पोखरा १५ परोपकार वैदिक गुरुकुल आश्रम परिसरमा पनि जमिन भासिएको छ भने कुनै मानवीय क्षति भएको छैन ।लगातारको वर्षात तथा सक्रिय मनशुन रहिरहेका बेला गत वर्षहरुमा झै यस वर्ष पनि जमिन भासिन थालेपछि स्थानिय त्रसित बनेका छन् ।

पोखराको अर्मलास्थित ठुलीबेसीफाँटमा आठ वर्ष अघि एकाएक जमिन भासियो । त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो । पोखरा शहरको मध्यभागमै जमिन भासिन्थे । तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो । अर्मलामा भने निकै ठूला भ्वाङ परे ।

पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका जमिन कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९९८ मा खानी तथा भूगर्भ विभाग र जियो साईन्स ईन्स्टिच्यूट अफ जर्मनीले पोखराको भौगर्भिक अवस्थाको अध्ययनपछि दिएको प्रतिवेदनमा भौगोलिक सतह कमजोर भएको प्रतिवेदन दिएको थियो ।

प्रतिवेदनमा अर्मला, बिन्ध्यवासीनी, नदीपुर, अर्चले, महेन्द्रपुल, मालेपाटन, छोरेपाटन, सिमलचौर, सितापाईला लगायत सेतिनदीको पश्चिमतर्फको भाग कमजोर भएको जनाएको थियो ।पोखराको जमिनमुनि कमेरो माटो छ । बर्षामा कमेरो माटो बगेर जाने गर्छ । आकाशको पानीले निकास नपाउनु तथा घरको छतको पानीको उचित व्यवस्थापन नहुनु पनि जमिन भासिनुको कारण भएको विज्ञ बताउँछन् ।

भू–बनावटको ख्यालै नगरी निर्माण गरिएका भौतिक संरचनाका कारण जमिन भासिएको उनीहरुको भनाइ छ ।पोखरा छोरेपाटन स्थित गुप्तेश्वर महादेव गुफा माथिका बस्ती झनै खतरानक रहेको छ । डेभिडफल्स नजिकै बाटोमा गाडी गुड्दा समेत जमिन थर्किन्छ ।


Last Updated on: August 23rd, 2021 at 12:26 pm
३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया