Tuesday, May 11

अभिभावक गुमाएकी अमिनालाई कांग्रेस नेता पौडेलले पढाइदिने

July 26, 2020 230

साउन ११, २०७७ तनहुँ : गत असार २९ गते चलेको पहिरोमा अभिभावक गुमाएकी ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैंसीकिलीकी सात वर्षीया बालिका अमिना सुनारीको शिक्षादिक्षा जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिएका छन्‌। शनिबार पहिरोग्रस्त गाउँमै पुगेर पौडेलले अमिनालाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी लिएका हुन्‌। उनले अमिनालाई माया युनिभर्स एकेडेमीमा पढाउने प्रतिवद्धता जनाएका छन्‌। बालबालिकालाई शिक्षाबाट वञ्चित गराउन नहुने भन्दै पौडेलले अमिनाको शैक्षिक जिम्मेवारी लिने निर्णय गरेको बताए। उनले भने, ‘अमिनाले अभिभावक गुमाएपनि हामी अभिभावक बन्न सक्नुपर्छ, उनको जिम्मेवारी लिएर गुणस्तरीय शिक्षा दिनुपर्छ, हामी सबै जनताका अभिभावक हौं, उनी अभिभावकको मायाबाट वञ्चित भएपनि हामीले दिन सक्ने माया र सद्भावको कमी हुन दिनु हुँदैन।’ पहिरोबाट अमिनाका हजुरबुवा र हजुरआमामात्र जोगिएका थिए। घाइते भएकी उनकी हजुरआमाको अहिले पोखरामा उपचार भइरहेको छ। पहिरो खसेको दिन कान्छा हजुरबुवा हरि सुनारी थापाको घरमा सुत्न गएकाले अमिनाको ज्यान जोगिएको हो। उनले पहिरोमा बुबा भेष बहादुर थापा, आमा नानुमाया थापा, बहिनी ५ वर्षीया अमिसा थापा, काका महावीर र काकी मनिसरालाई एकसाथ गुमाएकी थिइन्‌। तनहुँमा यसवर्ष बर्खा लागेपछि बाढी पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन्। विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्