Wednesday, April 21

कोरोना जोखिमका कारण लाखे नाच रोकियो

July 26, 2020 378

साउन ११, २०७७ पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले कुस्मा बजारमा बसोबास गर्दै आएका नेवार समुदायले भूते औँसीको दिनबाट निकाल्दै आएको लाखे नाचमा रोक लगाएको छ। लाखे नचाउँदै बजारका विभिन्न ठाउँहरू परिक्रम गर्दा कोरोना संक्रमण जोखिम बढ्ने भएकाले प्रशासनले आइतबारदेखि लाखे नाचमा रोक लगाएको हो। नागपञ्चमीका अवसरमा नेवार र अन्य समुदायका नागरिक पनि ठूलो सङ्ख्यामा जम्मा भई शनिबार साँझ लाखे नचाउँदै कुस्मा बजार परिक्रमा गरेका थिए। लाखे नाचेको हर्न विभिन्न चोकहरूमा ठूलो सङ्ख्यामा दर्शकहरू पनि सहभागी भएका थिए। ‘विगतका वर्षहरूबाटै उहाँहरूले भव्यताका साथ लाखे नचाउँदै आउनुभएको छ, यो उहाँहरूको मौलिक परम्परा हो, नेपालको संस्कृति हो,’ प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने, ‘यस पटक देशमा कोरोनाको महामारी छ, लकडाउन हटाइएको भएपनि कोरोना त हटेको छैन, जोखिम भयो, भीड जम्मा हुन भएन भनेर आम नागरिकबाट पनि कुरा आएको थियो।’ नेवा: सांस्कृतिक समूहका सल्लाहकार विष्णु नेवारले स्थानीय प्रशासनलाई जानकारी दिएरै जात्रा देखाइएको भएपनि भीड बढी भएकाले आइतबार सुरु गरेर सोही ठाउँमा नाचको अन्त्य गरिने बताएका छन्। ‘एकोहोरो मेट्नका लागि सुरु गरेकै ठाउँमा सक्छौं, भीड हुँदैन,’ उनले भने, ‘कोरोनाबाट सङ्क्रमित हुन त कसैलाई पनि मन छैन। भीड बढी भएका कारण हामीले पनि लाखे नाच नगर्ने भएका छौँ।’ भूते औशीदेखि पर्वत सदरमुकाम कुस्मा बजारमा बसोबास गर्दै आएका नेवार समुदायले ७ प्रकारका आफ्ना परम्परागत र सांस्कृतिक जात्राहरू सुरु गरेका छन्। भूते औँसीको दिनबाट जात्रा प्रारम्भ भई कृष्ण जन्माष्टमीमा समापन हुने गरी हरेक वर्ष जात्रा निकाल्ने परम्परा रहेको छ। कुस्मामा वर्षौंदेखि भूते औँसी, लाखे नाच, रोपाइँजात्रा, गाईजात्रा, बाघजात्रा, हनुमान जात्रा र कृष्णलीला देखाउने गरिएको छ। भूते औँसीमा भूतलाई बजारमा डुलाएपछि साँझ नदी वा खोला किनारमा लगेर सेलाउने गरिन्छ। लाखे नाच नागपञ्‍चमीबाट सुरु भई जनै पूर्णिमामा सकिन्छ। जनै पूर्णिमाको भोलिपल्टबाट रोपाइँजात्रा, गाईजात्रा, बाघजात्रा, हनुमानजात्रा र कृष्णलीला क्रमिक रूपमा देखाउने गरिन्छ। अन्तिम दिन कृष्ण जन्माष्टमीको दिनमा झाँकीसहित कृष्णलीला देखाउँदै बजार परिक्रमा गरेपछि जात्राहरू सकिन्छन्।

प्रतिकृया दिनुहोस्