काठमाडौं : पछिल्ला दिनमा दार्जिलिङ आन्दोलन चर्चामा छ । दैनिक नारा लाग्दै छ ‘वी वान्ट गोर्खाल्याण्ड, गोर्खाल्याण्ड(गोर्खाल्याण्ड। गोर्खाल्याण्ड चाहिन्छ, चाहिन्छ–चाहिन्छ। हाम्रो माग गोर्खाल्याण्ड’ । आन्दोलनकारीहरुले नेपाली तथा अंग्रेजीमा नाराहरु लगाउँदै छुट्टै गोर्खाल्याण्ड राज्यको माग गरिरहेका छन्।
चोक बजारमा नारा लगाइरहेका मानिसहरुमध्येका एसके दर्नालले भनेका छन्, ‘यो लडाइँ लेप्चा, भुटिया वा गोर्खाको होइन। यो लडाइँ पूरै पहाडको हो। अधिकारका लागि हो जसमाथि बंगाल सरकारले कब्जा जमाएको छ ।’
खासगरी अहिलेको संकटको मूल कारण नौ कक्षासम्मका विद्यार्थीका लागि बांग्ला भाषाको पढाइ अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको घोषणा हो। यो घोषणाबाट रुष्ट मानिसहरुले गत जुन ८ मा मन्त्रिपरिषद्को बैठकमा भाग लिन पुगेकी मुख्यमन्त्री ममता बनर्जीलाई कालो झण्डा देखाए। विरोध गरिरहेका मानिसहरु राजभवनमा छिर्ने कोसिस गरे।
यसपछि गोर्खा जनमुक्ति मोर्चाले जुन १२ मा पहाडमा अनिश्चितकालीन बन्दको घोषणा गर्यो। सरकारी कार्यालयहरुमा नजान र तिनलाई बन्द गराएर सरकारको विरोध गर्न आह्वान गरियो। त्यसपछि मुख्यमन्त्री ममता बनर्जीले कार्यालयमा अनुपस्थित हुनेको तलब काट्ने आदेश दिइन्।
त्यति बेलासम्म परिस्थिति बिग्रिसकेको थियो। तथापि जुन १५ मा मोर्चाका प्रमुख विमल गुरुङको कार्यालयमा प्रहरीको छापापछि स्थिति नियन्त्रणभन्दा बाहिर गयो। गोर्खा जनमुक्ति मोर्चाले जुन १५ देखि अनिश्चितकालीन बन्दको घोषणा गरिदियो। यसको व्यापक असर परिरहेको छ।
गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले आफूहरुले केन्द्र सरकारसँग कुराकानी गर्न चाहेको उल्लेख गर्दै बिबिसीले छापेको छ । ‘मैले गृहमन्त्री राजनाथ सिंहसँग भेटघाटको लागि अपील गरेको छु। अब कतिखेर वार्ता गर्ने भन्नेबारे निर्णय गर्ने दायित्व सरकारको हो,’ उनले भनेका छन्।
प्रतिकृया दिनुहोस्