Monday, August 2

मनसुन फेरि सक्रिय हुने : सतर्क हुन आग्रह

July 26, 2020 148

काठमाण्डौ / सोमबार रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज थोरै पानी परेपनि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।

मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने देखिएको छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले कम पानी परेको हो।

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको छ ।

कस्तो रहनेछ आजको मौसम ?

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ।

साथै नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको माैसम यसप्रकार रहने छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस्