Saturday, February 27

यी हुन् ‘होम आइसोलेसन’मा बस्दा ध्यान दिनैपर्ने कुरा

November 11, 2020 233

पछिल्लो तथ्यांकअनुसार देशभर साढे ३ हजारभन्दा बढी कोरोना संक्रमित ‘होम आइसोलेसन’मा छन्। तर यस्तो बेला अपनाउनुपर्ने सतर्कता नअपनाउँदा संक्रमित स्वयंलाई जोखिम त बढ्छ नै, परिवारका अन्य सदस्यमा भाइरस फैलिने खतरा पनि उत्तिकै हुन्छ।

यसर्थ होम आइसोलेसनमा रहँदा संक्रमित तथा परिवारका अन्य सदस्यले यी कुरामा ध्यान पुर्‍याउनपर्छ :

–यो भाइरसको संक्रमण भएपछि देखिने मुख्य लक्षण हुन्- ज्वरो, सुक्खा खोकी र जीउ बेस्सरी गल्ने। यसबाहेक मांशपेसी दुख्ने, घाँटी सुक्खा हुने, झाडा लाग्ने, आँखा सुन्निने, टाउको दुख्ने, गन्ध तथा स्वाद थाहा नपाउने, शरीरमा डाबर आउने, हात/खुट्टाका औंलाको रङ परिवर्तन हुँदै जाने लक्षण पनि देखापर्न सक्छन्।

–सास फेर्न गाह्रो भयो, छाती दुख्न थाल्यो अथवा बोल्न वा हिँडडुल गर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानु/लानुपर्छ।

–दीर्घ रोग छैन भने घरमै आइसोलेसन बस्दा राम्रो हुन्छ।

–दीर्घ रोग छ भनेचाहिँ अस्पतालमा भर्ना हुने, घरमै बस्ने हो भने चिकित्सकको निगरानीमा रहने।

सास फेर्न गाह्रो भयो, छाती दुख्न थाल्यो अथवा बोल्न वा हिँडडुल गर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानु/लानुपर्छ।

–यो रोगमा आत्मविश्वास बलियो हुन जरुरी छ। नडराउने, समय बिताउन लेख/रचना पढ्ने, लेख्ने, मन बहलिने सिनेमा हेर्ने, दैनिक हल्का योग र शारीरिक व्यायाम गर्ने।

–मद्यपान तथा धूमपानको लत छ भने त्यसबाट टाढा बस्नुपर्छ।

–कोरोना भाइरस विशेषगरी थुक, र्‍याल, सिँगान तथा शरीरबाट निस्कने अन्य तरल पदार्थबाट सर्छ।

–घरमा बस्दा जलवियोजनबाट बच्न प्रशस्त मात्रामा पानी तथा झोलिलो कुरा खानुपर्छ। पिसाबको मात्रा पर्याप्त छ कि छैन, बेलाबेला याद गर्नुपर्छ।

–तागतिलो/पौष्टिक खाना खार्नुर्छ। शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मौसमअनुसार तरकारी तथा फलफूल खानुपर्छ। फलफूल खाँदा सकेसम्म विभिन्न भिटामिन भएका मिलाएर खानु राम्रो हुन्छ।

–घरमा आइसोलेसनमा बस्नुपर्दा प्रशस्त मास्क, सेनिटाइजर, रगतको अक्सिजन जाँच्ने तथा तापक्रम जाँच्ने मेसिन, विभिन्न लक्षणअनुसारका औषधि (मुख्य रूपमा पारासिटामोल, सेट्रिजिन र खोकी रोक्ने) साथमा राख्नुपर्छ।

–संक्रमितले दैनिक मास्क फेर्नुपर्छ। आफूले प्रयोग गरेका सामान तथा फोहोर अन्य व्यक्तिसम्म नपुगोस् भन्नेमा होस पुर्‍याउनुपर्छ।

–औषधि र मेसिन कुन बेला र कसरी प्रयोग गर्ने जानकारी राख्नुपर्छ। शरीरको तापक्रम तथा अक्सिजनको मात्रा ६–१२ घण्टामा जाँच गरिरहनु राम्रो हुन्छ।

–घरमा सकेसम्म अरू परिवारको सम्पर्कमा नआई छुट्टै कोठामा बस्नुपर्छ।

–संक्रमितले प्रयोग गरेका धारा, चर्पी, नुहाउने कोठा, प्रयोग गरिएका रुमाल, लुगा, बस्ने कोठा अरूलाई प्रयोग गर्न दिन हुँदैन।

–संक्रमितलाई खाना, पानी दिँदा छुट्टै ठाउँमा ऊसँग सम्पर्क नहुने गरी राखिदिनुपर्छ।

–आफूले प्रयोग गरेका भाँडाकुँडा संक्रमित आफैंले सफा गर्नुपर्छ, अरूलाई लगाउन हुँदैन।

–परिवारका अन्य सबै सदस्यलाई मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्छ।

–संक्रमितसँग कुरा गर्दा सकेसम्म मोबाइल, वाइफाइको प्रयोग गर्नुपर्छ। सीधा कुरा गर्नुपरे २ मिटर टाढा बसेर दुवै जनाले अनिवार्य मास्क लगाउने।

चर्पी, नुहाउने कोठा छुट्टै छैन भने के गर्ने?

–घर सानो छ र सबैले एउटै चर्पी, नुहाउने कोठा प्रयोग गर्नुपर्छ भने संक्रमित गएलगत्तै अन्य सदस्य जान हुँदैन।

संक्रमितले दैनिक मास्क फेर्नुपर्छ। आफूले प्रयोग गरेका सामान तथा फोहोर अन्य व्यक्तिसम्म नपुगोस् भन्नेमा होस पुर्‍याउनुपर्छ।

–चर्पी प्रयोग गरिसकेपछि प्रशस्त पानी हालेर कमोड, बेसिन तथा प्रयोग गरेका सामान पखाल्नुपर्छ।

–चर्पी वा नुहाउने कोठा प्रयोग गरिसकेपछि संक्रमितले छोएका धारा, फ्लस, स्प्रे, ढोकाका चुकुललगायत सबै सामानमा सेनिटाइजरले स्प्रे गर्नुपर्छ।

–संक्रमितले चर्पी जानुअगाडि मास्क तथा हातमा सेनिटाइजर प्रयोग गर्नुपर्छ।

–संक्रमितले प्रयोग गरेको लुगा, तन्ना, सिरक अलग्गै धुने व्यवस्था गर्नुपर्छ।

यसरी सावधानी अपनाउन सकियो भने घरमा रहेका कोरोना संक्रमितबाट परिवारका अन्य सदस्यलाई भाइरस सर्नबाट जोगाउन सकिन्छ।

लेखक किस्ट मेडिकल कलेज उपप्राध्यापक हुन् ।

प्रकाशित: २५ कार्तिक २०७७ १४:३४ मंगलबार

 

प्रतिकृया दिनुहोस्