Thursday, March 4

कोभिड त्रास : जागिर गुमाएपछि पिताले २८ लाख रुपैयाँमा बेचे छोरो

November 11, 2020 349

चीनमा एक व्यक्तिले कोभिड महामारीका कारण जागिर गुमाएपछि आफ्नो नवजात छोरो २८ लाख रुपैयाँमा एक महिलालाई बेचेका छन् । ती मजदूर पिताका दुई छोरा पहिले नै थिए र जागिर गुमाएपछि आर्थिक संकटमा परी उनले अन्लाइनमा भेटिएकी अपरिचित व्यक्तिलाई नवजात शिशु बेचेका हुन् ।

उनले छोरो नपाएकी एक महिलालाई ४० दिने शिशु बेच्नका लागि आफ्नी पत्नीलाई फकाएका थिए । चीनमा शिशु बेच्ने काम अवैध छ । चीनको न्युज साइट आन्हुई नेटले सोमवार यस घटनाको खुलासा गरेको हो । त्यसमा छापिएको खबरअनुसार, शिशु किन्ने महिलाले उसलाई बोकेर ट्रेनमा जाँदै गर्दा प्रहरीको ध्यान आकर्षण भएको थियो ।

सु नामक ती महिला चीनको सिचुआन प्रान्तमा रहेको जियाङआन काउन्टीबाट आन्हुई प्रान्तमा रहेको हुओशानतिर घर जाँदै थिइन् । हेफेई शहरमा उनी ट्रेनबाट उत्रेपछि शंकास्पद व्यवहार देखाउन थालिन् अनि प्रहरीको ध्यानाकर्षण भयो । प्रहरीलाई उनले शुरूमा त बच्चा एडप्ट गरेको बताइन् । तर थप केरकार गर्दा उनले बालकका लागि पोषणस्याहारको पैसा तिरेको स्वीकार गरिन् ।

हेफेई रेलवे प्रहरीले घटनामा तत्कालै छानबिन शुरू गर्‍यो अनि शिशुका जैविक मातापितासँग सोधपुछ गर्‍यो । शिशुका पिता लिउ र माता झाङ आप्रवासी कामदार भएको पत्ता लाग्यो ।
सुका तीनवटी छोरी मात्र भएकाले छोराको आशा गरिरहेकी थिइन् र लिउसँग उनले शिशु किनेकी हुन् । लिउ र झाङ अनि सुलाई बालबालिका तस्करीको आरोपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । चिनियाँ कानूनअनुसार, बालबालिका तस्करी गर्ने र बेच्ने जोकोहीलाई पाँचदेखि १० वर्षको कारावास सजाय हुन्छ । यसमा आजीवन कारावास वा मृत्युदण्डको समेत प्रावधान छ ।

प्रतिकृया दिनुहोस्