Thursday, March 4

बिग्रिएको बस जबर्जस्ती चलाउनाले बैतडीमा भयो ९ जनाको ज्यान लिने दुर्घटना

November 14, 2020 186

बैतडी, २९ कार्तिक । बैतडीको डिलासैनी–२ गन्नाबाट बिहीबार साँझ ५ बजे महेन्द्रनगरका लागि छुटेको बसमा न यात्रु खचाखच थिए न त ओभरलोडको समस्या । तैपनि बाटोमा बेलाबेलामा इन्जिनमा समस्या आइरहेको थियो । स्टार्ट बन्द हुन खोज्दा चालक वीरेन्द्र कार्की रोक्थे ।

ठोकठाक पार्थे, स्टार्ट हुन्थ्यो, अघि बढाउँथे । झिँझो मानेका यात्रुले उत्रेर अर्को गाडी सजिलै पाउने विकल्प थिएन । हेर्दै, दिक्क मान्दै यात्रा गरिरहेका थिए ।

पहाडको बाटो । रातको समय । यात्रुमध्ये अधिकांश निदाएकै बेला पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको उक्त बस अचानक पल्टियो । राति करिब १० बजे पाटन नगरपालिका–८ खोड्पे बजारनजिकै बस सडकबाट करिब ६ सय मिटर तल खसेको हो । घटनामा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते छन् । मृत्यु हुनेमा ७ पुरुष र २ महिला छन् । बिग्रिएकै अवस्थामा जबर्जस्ती चलाउँदा दुर्घटना भएको घाइते यात्रुहरूले बताएका छन् । गन्नाबाट छुटेको केही समयमै बिग्रेको बस रोकेर बेलाबेला चालकले जाँच गर्दै चलाउँदै गरेको पनि घाइते यात्रुहरूले बताए ।

‘बिग्रेको बसले कसरी लैजान्छ, अर्को छैन चलाउन रु भन्दा ड्राइभरले केही हुँदैन, सामान्य खराबी हो भनेका थिए,’ डडेलधुरा अस्पतालमा उपचाररत घाइते कञ्चनपुरको शुक्लाफाँटा–७ का हर्कबहादुर धामीले भने, ‘गन्नाबाट छुट्दै एकपटक बिग्रिएको थियो, हिँडेपछि ठाउँ–ठाउँमा ठोकठाक गर्दै चलाइरहेका थिए ।’ बस सडकबाट खस्नुभन्दा केहीअघि पनि दुर्घटनाबाट जोगिएको उनले बताए । ‘बस पल्टिनुभन्दा आधा घण्टाअघि पाटनको उकालोमा पनि एक्सिडेन्ट हुनबाट जोगिएको थियो,’ उनले भने, ‘बसमा ओभरलोड, कोचाकोच पनि थिएन । सामान पनि धेरै थिएन, ड्राइभरको लापरबाहीले घटना भयो ।’कान्तिपुर दैनिकमा खबर छ ।

अर्का घाइते यात्रु बैतडी खोचलेकका रितेश भट्टले पनि पटक–पटक चालकलाई गाडी बिग्रिएको भए रोकिदिन आग्रह गरेको बताए । ‘मैले पनि दुईपटक अनुरोध गरें,’ उनले भने, ‘ठाउँ–ठाउँमा रोकेर हेर्दै चलाउँदै गरेका ड्राइभरले सामान्य खराबी भएको हो, आत्तिनु पर्दैन भनिरहेका थिए ।’ दुर्घटनाका अर्का घाइते अछामका अमृत कुमालले पनि चालकले जबर्जस्ती बस चलाउँदा दुर्घटना भएको बताए ।

 

प्रतिकृया दिनुहोस्