Friday, April 23

लकडाउनबाट प्रभावित धनकुटा किसानलाई साढे एक करोड रुपैयाँ राहत

July 28, 2020 173

साउन १३, २०७७ धनकुटा : प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धनकुटाका किसानलाइ एक करोड ५३ लाख ७१ हजार ४ ५१ रुपैयाँ राहत प्रदान गरेको छ। कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण प्रभावित धनकुटाका ८४ वटा कृषि फर्म तथा समूहमा आवद्ध किसानलाई प्रदेश सरकारले राहत प्रदान गरेको हो। प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटामार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण व्याज अनुदान कार्यक्रम शीर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समूहमा  आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो।  यस्तै, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटामार्फत कुखुरा पालन, दुग्ध पदार्थ, दुग्ध उत्पादन र बंगुर पालन गरी ६८ कृषि फर्म तथा समूहमा आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो। जसमा कृषि ज्ञान केन्द्र धनकुटा मार्फत ६१ लाख ५४ हजार ९३१ रुपैयाँ तथा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटामार्फत ९२ लाख १६ हजार ५१३ रुपैयाँ राहत वितरण गरेको छ। सोमबार मन्त्रालयले जिल्ला समनवय समिति धनकुटाको समन्वयमा एक कार्यक्रम गरी राज्यमन्त्री रामबहादुर मगरले किसानलाई राहत वितरण गरेका थिए। राहत वितरण गर्दै राज्यमन्त्री मगरले प्रदेश सरकारले कोरोना प्रभावित किसानलाई सानो सहयोग गरेको बताए। उनले कोरोनाको कारण कृषि क्षेत्रमा तत्काल क्षति गरेको बताउँदै प्रदेश १ सरकारले कृषि क्षेत्रमा ४५ करोड रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको भए पनि किसानले उत्साह जनक निवेदन नदिएको बताए।

प्रतिकृया दिनुहोस्