Thursday, March 4

एकै स्थानमा दुई दुर्घटना, ट्याक्सी चालकको मृत्यु

November 25, 2020 183

बागलुङ : जिल्लाको पश्चिम ढोरपाटनमा एकै स्थानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आधा घण्टाको फरकमा भएका दुर्घटनामा ट्याक्सी चालकको मृत्यु भएको हो । बडिगाड गाउँपालिकाको भिमगिठेदेखि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ५४२ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुबोटमा मंगलबार राति साढे ९ बजे दुर्घटना भएको थियो । दुर्घटनामा बडिगाड गाउँपालिका ६ का २८ वर्षीय चालक नहकुल केसीको मृत्यु भएको हो ।

ट्याक्सी सडकदेखि करिब २ सय मिटर तल बडिगाड खोलामा खसेको थियो । चालकको शव बुधबार बिहान दुर्घटनास्थल भन्दा दुई किलोमिटर तल बडिगाड गाउँपालिका वडा नम्बर ६ को घोपरमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

सोही स्थान नजिकै राति १० बजे लु २ ज ९१९९ नम्बरको जीप पनि दुर्घटना भएको छ । जीप सडकदेखि १ सय ५० मिटर तल खसेको प्रहरीले बताएको छ । जीपका चालक बडिगाड गाउँपालिका ९ का २२ वर्षीय किरण केसी भने सकुशल छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटना भएका गाडीका दुवै चालकले सँगै खाना खाएर गन्तव्य तर्फ लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी रेग्मीले बताए । ‘दुर्घटना भवितव्य हो या अरु कारण भएको भन्नेबारे अनुसन्धान जारी छ’, रेग्मीले भने, ‘जिल्लाबाट थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमा टोली घटनास्थल पठाइएको छ ।’

प्रतिकृया दिनुहोस्