Friday, April 23

झापामा पनि समुदायमा काेराेना फैलियो, व्यवसायी र नेता पनि संक्रमित

July 28, 2020 213

साउन १३, २०७७ भद्रपुर : एक साताअघि झापा जिल्लामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण समुदाय स्तरमा फैलिएको थिएन। रोजगारी तथा अध्ययनका लागि भारतसहित तेस्रो मुलुक गएर फर्किएका जिल्लावासीमा मात्र संक्रमण पुष्टि हुँदै आएको थियो। विदेशबाट फर्किएका व्यक्तिमा मात्र संक्रमण पुष्टि हुँदै आएकोमा जिल्लावासी ढुक्क भएर पहिलाको जस्तै जनजीवन बिताउँदै आइरहेका थिए। सरकारले गत साउन ६ गते मध्यरातदेखि लकडाउन खुलाएसँगै झापामा समुदाय स्तरमा कोरोना संक्रमित देखिन थालेको हो। सरकारले लकडाउन खुलाउने निर्णय गरेकै दिन जिल्लामा पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमित भेटियो। काँकडभिट्टा नाकामा खटिएका दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि मेचीनगर नगरपालिकामा उच्च सतर्कता अपनाउँदै सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत ४८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्यो। ४८ जना सशस्त्रको साउन ९ गते पिसिआर रिपोर्ट आउँदा एकै पटक १८ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भयो। यसले समुदाय स्तरमा कोरोना फैलिसकेको सङ्केत देखायो।मेचीनगरमा अहिले समुदाय स्तरमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिँदैछ। २० जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको चार दिनपछि आज सोमबार बाह्रदशी गाउँपालिकाका दुई जना स्थानीयलाई पनि कोरोना संक्रमण देखियो। गाउँपालिकामा यसअघि १२ जना संक्रमित पुष्टि भएका सबै भारतसहित तेस्रो मुलुकबाट आएका थिए। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ। कोरोन जितेर हालसम्म ३ सय ४ जना घर फर्किएका छन्। बाह्रदशी गाउँपालिका सिल समुदाय स्तरमा कोरोना भाइरसका संक्रमित भेटिएपछि बाह्रदशी गाउँपालिका सिल गरिएको छ। गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै भोलि मङ्गलबारदेखि गाउँपालिकाको वडा नम्बर १, २ र ३ अनिश्चितकालका लागि सिल गरिने जनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि तीन वटा वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए। बाह्रदशीमा समुदाय स्तरमा संक्रमण देखिएकोले ‘मास टेस्टिङ’गरिने जनाइएको छ। चारदिन अघि क्वारेन्टाइनमा बसेका व्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ता गरी २६ जनाको स्वाब सङ्कलन गरी पठाइएको थियो। त्यसमध्ये समुदायका दुई जनामा संक्रमण पुष्टि भएको हो। मेचीनगरमा ‘मास टेस्टिङ’ २० जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि मेचीनगरमा पनि समुदाय स्तरमा कोरोना फैलिएको आशङ्कामा ‘मास टेस्टिङ’ सुरु गरिएको छ। मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य कार्यालय झापाले संयुक्त रुपमा काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरु गरेको हो। पहिलो दिन भन्सार कर्मचारी र सुरक्षाकर्मी गरी ४८ जना र दोस्रो दिन स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटेल व्यवसायी, पत्रकार र सर्वसाधारण गरी ११७ जनाको स्वाब सङ्कलन गरिएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। ४८ जनाको पिसीआर रिपोर्ट आइसकेको छ, एसपी कोइरालाले भने, ‘अब ११७ जनाको रिपोर्ट आउन बाँकी छ, रिपोर्ट आएपछि मात्र जिल्लाको समुदाय स्तरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि कस्तो रणनीति बनाउने त्यस बारेमा जिल्लास्तरमा छलफल हुनेछ।’ ७०० प्रहरीलाई ‘फेस शिल्ड’ तीन वटा सुरक्षा निकायमध्ये अहिले जिल्लाका सशस्त्र प्रहरीमा मात्र कोरोना संक्रमण देखिएको हो। नेपाल प्रहरी र नेपाली सेनामा कोरोना संक्रमण देखिएको छैन। जिल्लाका नाका, बजार, सडकसहित समुदाय स्तरमा बढी नेपाल प्रहरी खटिने गरेको छ। प्रहरीलाई कोरोना लाग्नबाट बचाउन जिल्ला प्रहरी कार्यालय झापाले आफ्ना मातहत रहेका प्रहरी कार्यालयहरूलाई सोमबार पहिलो चरणमा ७ सय ‘फेस शिल्ड’वितरण गरेको छ। जिल्लामा १३ सय प्रहरी कर्मचारी रहेको बताउँदै प्रहरी कार्यालय झापाका एसपी कोइरालाले भने, ‘दोस्रो चरणमा ६ सय ‘फेस शिल्ड’ प्रदान गर्ने छौ, अब जिल्लामा खटिएका हरेक प्रहरीले अनिवार्य ‘फेस शिल्ड’लगाउनुपर्ने हुन्छ।’ समुदाय स्तरमा कोरोना फैलिसकेकोले जिल्लावासीले सावधानी अपनाउनु बेला आइसकेकाे भन्दै उनले भने, ‘मास्क नलगाई सडकमा हिँड्नेलाई कानुन बमोजिम कारबाही सुरु गरिसकेका छौं।’

प्रतिकृया दिनुहोस्