Friday, July 30

विश्वभरीका ७ अर्बभन्दा धेरै मानिसहरुसम्म कोरोना भ्याक्सिन पुर्याउनको लागि तयारी सुरु, सेनाका जहाज पनि प्रयोग हुँदै

December 6, 2020 388

विश्वभरी कोरोना भ्याक्सिन पुर्‍याउने यस्तो छ तयारी, सेनाका जहाज पनि प्रयोग हुँदैविश्वभरी कोरोना भ्याक्सिन पुर्‍याउने यस्तो छ तयारी, सेनाका जहाज पनि प्रयोग हुँदै

काठमाडौं। विश्वभरीका ७ अर्बभन्दा धेरै मानिसहरुसम्म कोरोनाभाइरसको भ्याक्सिन पुर्याउनको लागि तयारी सुरु भएको छ । बेलायतले फाइजर र बायोएनटेकले विकास गरेको भ्याक्सिनलाई आपतकालीन स्वीकृति दिइसकेको छ र यहाँ मंगलबारदेखि खोप दिने कार्यक्रम सुरु हुने अपेक्षा गरिएको छ । यी भ्याक्सिन बेल्जियममा रहेको कम्पनीको भण्डारस्थलबाट बेलायत ल्याइनेछन् । यी भ्याक्सिन ढुवानीको लागि बेलायत सरकारले सेनाको रोयल एयरफोर्सका हवाइजहाजको समेत प्रयोग गर्ने भएको द गार्डियनले जनाएको छ ।

यसअघि विश्वभरी संचालित हवाइ यातायात तथा ढुवानीकर्ताहरुको छाता संगठन इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए) ले विश्वभरीका ७ अर्बभन्दा धेरै मानिसहरुका लागि प्रत्येक व्यक्तिलाई २ डोजका दरले १४ अर्बभन्दा धेरै डोज ढुवानी गर्न २ वर्षको समय लाग्ने बताएको थियो । हवाइ ढुवानीका लागि अहिले प्रयोग भइरहेका कार्गो विमान र यात्रु विमान समेत प्रयोग गर्दा पनि भ्याक्सिन ढुवानीमा ढिलाइ हुने देखिएपछि बेलायतले सेनाका जहाज समेत प्रयोग गर्न लागेको हो । यसका लागि देशमा स्वास्थ्य विभाग र रक्षा विभागले मिलेर काम गरिरहेका छन् ।

रिपोर्टअनुसार बेल्जियमबाट पहिलो लटमा ८ लाख डोज भ्याक्सिन बेलायत ल्याइनेछ । यसको लागि रोयल एयरफोर्सका जहाज प्रयोग गरिनेछन् । मुख्य मिशन १ जनवरीदेखि सुरु गरिनेछ । युरोपेली देशहरुबीच दूरी कम छ तैपनि अझै छिटो गर्नको लागि हवाइ माध्यम रोजिएको छ । अर्कोतर्फ ब्रेक्जिट विवादका कारण अहिले बेलायत र युरोपेली संघबीच तनाव छ । यस्तोमा युरोपेली युनियनका अन्य सदस्य देशहरुको बाटो हुँदै सडक मार्गबाट भ्याक्सिन ल्याउँदा धेरै नीतिगत झमेला हुन सक्ने भएकोले बेलायतले सिधै एयरलिफ्ट गरेर भ्याक्सिन ल्याउन लागेको हो । बेलायतले क्रिसमससम्म फ्रन्टलाइन स्वास्थ्यकर्मी र वृद्धाश्रममा रहेका नागरिकलाई भ्याक्सिन दिइसक्ने तयारी गरेको छ ।

आइएटिएका महानिर्देशक तथा सीइओ अलेक्जेण्डर डिजुनिएकले कोभिड–१९ भ्याक्सिनलाई विश्वका हरेक ठाउँमा पुर्याउनु यो शताब्दीकै सबैभन्दा ठूलो मिशन हुने बताएका छन् । भ्याक्सिनको सुरक्षा सबैभन्दा ठूलो चुनौती भएकोले यसको लागि योजना बनाइँदैछ । उनले यो मिशन निकै कठिन भएकोले सबै देशका सरकारहरुलाई साथ दिन अपिल पनि गरेका छन् ।

ब्लुमबर्गले केही दिनअघि एक रिपोर्टमा आइएटिएको हवाला दिँदै भ्याक्सिन ढुवानीको लागि हरेक एयरलाइन्सको प्रयोग गर्नु जरुरी रहेको बताएको थियो । आइएटिएले एयरलाइन्स कम्पनीहरुसँग अनुभव नभएकोले सुरुवाती चरणमा भ्याक्सिन ढुवानीको काम छिटो र सहज तरिकाले अगाडि बढाउन कठिन हुने बताएको थियो । एक अनुमान अनुसार वर्षको अन्त्यसम्म फाइजरले १ अर्ब ३० लाख भ्याक्सिन तयार गर्नेछ । मोडर्नाले करिब ५० करोड भ्याक्सिन तयार गर्ने र अक्सफोर्ड एस्ट्राजेनेकाले स्वीकृति पाएपछि २ अर्ब डोज बनाउन सक्ने मानिएको छ ।

अमेरिकामा हरेक बाटो प्रयोग हुनेछ । अमेरिकामा ट्रम्प प्रशासनले गएको अक्टोबरको अन्तिममै ढुवानी योजना तयार गरेको थियो । २ डिसेम्बरमा यातायात मन्त्री एलेन चाओले भनेका थिए ‘यो ऐतिहासिक मिशनको एक हिस्सा बन्नु हाम्रो लागि गर्वको कुरा हो । हामी भ्याक्सिन सुरक्षित पुर्याउनको लागि हरेक बाटो प्रयोग गर्नेछौं । हामी चाहन्छौं कि यो काम निकै ठूलो परिमाणमा होस् । यसमा सुरक्षा र द्रुतता दुवै जरुरी छन् ।’

प्रतिकृया दिनुहोस्