Friday, July 30

पहिचान नखुलेको रोगका कारण तीन सय जना बिरामी, बिरामी पर्नेको संख्या बढ्दै

December 7, 2020 195

भारतको आन्ध्र प्रदेशमा पहिचान नखुलेको रोगका कारण बिरामी पर्नेको संख्या बढ्दै गएको छ ।

एक हप्तामा त्यहाँ पहिचान नखुलेको रोगका कारण १७० जना अस्पतालमा भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार अहिलेसम्म पहिचान नखुलेको रोगका कारण झण्डै ३ सय जना बिरामी परेका छन् । विरामी हुनेमा अधिकांश महिला र बालबालिका रहेको उक्त सञ्चारमाध्यमले जनाएको छ ।

बिरामी हुनेमा ४ वर्षका बालबालिका पनि रहेका छन् ।

यस्ता बिरामीलाई अचानक आँखा पोल्ने र उल्टी हुने जस्ता लक्षण देखिएको एलरु सरकारी अस्पतालका एक जना डाक्टरलाई उदृत गर्दै खबरहरु आइरहेका छन् ।

शनिबार रातिसम्म ५५ विरामी भर्ना भएकामा आइतबार उक्त संख्या १ सय ७० नाघेको छ ।

अहिलेसम्म अस्पताल भर्ना भएका एक सय २५ जना डिस्चार्ज भएका र अन्यको उपचार भइरहेको खबरमा उल्लेख छ ।

आन्ध्र प्रदेशको गोदावरी जिल्लाका नागरिकमा स्वास्थ्य समस्या देखिएको हो ।

दूषित खानेपानी र प्रदूषित वातावरणका कारण पनि स्वास्थ्यमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । तर,आन्ध्र प्रदेशका स्वास्थ्यमन्त्री अल्ला काली कृष्ण श्री निवासले बिरामीको रगतको नमुना संकलन गरी परीक्षण गर्दा त्यस्तो केही समस्या नपाएको बताए ।

उनले खानेपानीको नमुना परीक्षणमा कुनै खराबी नपाएको तथा बिरामीको रगतमा पनि कुनै भाइरस नभेटिएको बताएका हुन् ।

सबै बिरामीको कोरोना परीक्षण पनि नेगेटिभ आएकाले रोगको विषयमा अन्यौलता बढेको छ ।

 

प्रतिकृया दिनुहोस्