Friday, July 30

लमजुङका सामुदायिक विद्यालयमा सुरु भएको पठनपाठन स्थगित

July 29, 2020 240

साउन १४, २०७७ लमजुङ : लमजुङ सदरमुकाममा रहेको बेसीशहर नगरपालिकाका सामुदायिक विद्यालयमा सुरु भएको पठनपाठन स्थगित भएको छ। नगरपालिका शिक्षा शाखाले सूचना जारी गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई उपस्थित गराई पठनपाठन नगर्न निर्देशन दिएको हो। यसअघि नगरपालिका शिक्षा शाखाको बैठकले साउन ५ देखि बैकल्पिक प्रणालीवाट सिकाई सहजीकरण कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि आवश्यक मापदण्ड नपुगेपछि पुनः कक्षा सञ्चालन स्थगित गरिएको शिक्षा शाखा प्रमुख किसान राज चिलवाले बताए। नगरपालिकाका कतिपय विद्यालयले विद्यार्थीलाई विद्यालयमा नै उपस्थित गराएर पठनपाठन सुरु गरेको जनगुनासो आएपछि पठनपाठन तत्काल रोक्न निर्देशन गरेको हो। कोभिड–१९ संक्रमण जोखिमका कारण शैक्षिक क्षेत्र प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै शिक्षा विकास तथा मानव स्रोेत विकास केन्द्रको बैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा पठनपाठनलाई निरन्तरता दिन लागिएको शिक्षा शाखा प्रमुख चिलुवालले बताए। नगरपालिकाले सम्वन्धित विद्यालयहरुले उपयुक्त किसिमको सार्वजनिक भवन तथा अन्य सुरक्षित स्थलमा टोल पठन समूह बनाई एक टोलमा सञ्चालित सिकार्ई केन्द्रको विद्यार्थी अर्को टोलको सिकाई केन्द्रमा सहभागी नहुने अवस्था सिर्जना गरी पठनपाठन सुरु गर्न आग्रह गरेको छ। यस्तै, स्वास्थ्यसम्बन्धी उचित सतर्कता तथा भौतिक दूरी कायम गरी सम्बन्धित समुदायकका शिक्षक तथा स्वयंसेवक अभिभावकको निगरानीमा सिकाई सहजीकरणको व्यवस्था मिलाउन नगरपालिकाले अनुरोध गरेको छ

प्रतिकृया दिनुहोस्