Thursday, May 13

वीरगञ्जमा १०० भन्दा बढी कोरोना संक्रमित घरकै आइसोलेशनमा

July 31, 2020 314

पर्सा – पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका समाजसेवी तथा राजनीति दलका प्रतिनिधिले चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गइरहेकामा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको व्यवस्थापन गरी दिन सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् । पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनालगायत ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लाका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षलगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै यस्तो माग गरेको छ । निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।

वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि अहिले १०० भन्दाबढी सङ्क्रमित घरकै आइसोलेशनमा रहेका छन् । पचास श्ययाको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ६० जनाभन्दा बढी सङ्क्रमितलाई राखिएको छ । लक्षणसहितका सङ्क्रमित बढी देखिएकाले अवस्था जटिल बन्दै गएको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

बैठकले अरु पनि निजी अस्पताललाई लिएर कोभिड अस्पताल बनाउन सङ्घीय सरकारसँग माग गरेको छ । बैठकले नारायणी अस्पतालको बन्द रहेको सेवालाई सुरक्षा अपनाएर सञ्चालन गर्नुपर्ने, वीरगञ्जमा विद्युतीय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवदाहमा समस्या देखिएकाले शवदाहमा कसैले विरोध नगरिदिन बैठकले सबैमा अनुरोध गरेको छ । रासस

 

प्रतिकृया दिनुहोस्