Wednesday, April 21

काठमाडौ प्रहरीमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्यो, ३ सय १३ ट्राफिक प्रहरी क्वारेन्टाइनमा

August 3, 2020 285

काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना का प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहित ३ सय १३ जनालाई कार्यालयभित्रै क्वारेन्टाइनमा राखिएको छ । उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै सबै प्रहरीलाई बग्गीखानाभित्रै राखिएको हो । अहिले बग्गीखानालाई सिल गरिएको छ । उनीहरु करिब ५ दिनसम्म क्वारेन्टाइनमा रहनेछन् ।

पीसीआर परीक्षण गरेपछि नेगेटिभ देखिए मात्र नियमित डिउटीमा पठाउने तयारी महाशाखाले गरेको छ । प्रमुखसहित यति धेरै संख्यामा ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या आउने बताइएको छ । कोरोना देखिएका दुई जना प्रहरीलाई अस्पताल लगिएको छ भने बाँकी प्रहरी आफ्नै कार्यकक्ष र कोही ब्यारेकमा बसेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी वामदेव गौतमले दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि एसएसपी ढकालसहित ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका प्रमुख ढकालसहितको उच्च अधिकारीले बग्गीखानाबाटै उपत्यको ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिइरहेका छन् । एसएसपी ढकालले बाहिर जान नमिले पनि कार्यालयबाट उपत्यकाका सबै मातहतका निकायलाई निर्देशन दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न जिम्मेवारी पाएका सबैले काम गरिरहेका छन् । महाशाखा महातहमा १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । ३ सय १३ जना क्वारेन्टाइनमा बसेपछि उपत्यकामा करिब १ हजार २ सय जना नियमित डिउटीमा खटिरहेका छन् ।’ एसएपसी ढकालले उपत्यकामा ट्राफिक प्रहरीको कमी हुन नदिन सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई खटाउन शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो समयमा सडकमा ट्राफिक प्रहरीको कुनै कमी हुन दिनेछैनौं, सचेत भएर सबै स्थानमा खटाउने छौं ।’ समाचारपत्र दैनिकमा खबर छ ।

बग्गीखानाभित्रै कोराना संक्रमित भेटिएपछि महाशाखाले उपत्यकाका सबै ट्राफिक प्रहरीलाई सावधानी अपनाउन निर्देशन दिएको छ । प्रवक्ता गौतमले भन्नुभयो– ‘नियमित चेकजाँच गर्दा करिब दुई मिटर टाढा बस्ने मापसे परीक्षण गर्दा टाढैबाट सोधखोज गर्ने अनिवार्य रुपमा पन्जा, फेस सेफ र मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न निर्देशन दिइसकेका छौं ।’

 

प्रतिकृया दिनुहोस्