Friday, July 30

कैलालीको गौरीफन्टा नाकामा भद्रगोल, लापरवाही बढेपछि कोरोनाको जोखिम (भिडियो हेर्नुस्)

August 8, 2020 358

काठमाडौं । अहिले भारतसंग सिमाना जाडिएका तराईका जिल्लामा समुदाय स्तरमै कोरोना फैलिएको भन्दै सरकारले थप सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तराईका धेरै जिल्लामा कोरोना नियन्त्रण वाहिर गएका कारण निषेधाज्ञा लगाइएको छ । तर सुदूरपश्चिमको यो गौरी फन्टा नाकाको अवस्था हेर्नुहोस् जहाँ सामान्य अवस्थामा जस्तै सर्वसाधारण हुल बाँधेर नेपाल फर्कीएका छन् । उनीहरुलाई सामान्य सुरक्षाको मापदण्ड पनि अपनाइएको छैन । सिमानामा बसेका सुरक्षाकर्मीले उनीहरुको संख्या टिप्ने बाहेक अन्य कुनै ब्यवस्था गरेको छैन ।

भारतवाट आएर उनीहरु सिधै घर जान्छन् । क्वारेन्टिनको ब्यवस्था छैन । स्थानिय जनप्रतिनिधिको कुनै भूमिका देखिदैन । जसका कारण गाउँ गाउँ सम्म कोरोना समुदायमै पुग्ने जोखिम बढेको छ । कैलाली र कञ्चनपुर लगायतका जिल्लामा भारतसँग जोडिएका सीमानाकामा समान्य समयको जस्तै आवागमन हुन थालेपछि कोरोनाको जोखिम बृद्धि भएको स्थानियको भनाई छ ।

अहिले भारतबाट फर्किनेहरुलाई समान्य स्वास्थ्य परीक्षण समेत नगरी घर पठाउन थालिएको छ। अहिले सामान्य समयमा जस्तै वस व्यवसायीहरुले सीमामा यात्रु तानातान गर्दै गन्तव्यतर्फ लगिरहेको दृष्य भिडियोमा देख्न सकिन्छ। लकडाउनका बेला भारतबाट फर्किनेहरुलाई सीमा क्षेत्रमा होल्ड गरेर सम्बन्धीत स्थानीय तहको जिम्मा लगाउने गरिएको थियो। अहिले त्यस्तो कुनै ब्यवस्था छैन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमानाका व्यवस्थित गर्ने विषयमा छलफल भईरहेको बताउँछन् । तर दिनहुँ यसरी हुलका हुल फर्र्किका नेपालीहरुवाट कति कोरोना भित्रिइसक्यो भन्ने कुनै लेखाजोखा छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्किनेहरुको सीमानाकामै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने दावी गर्दे आएको भएपनि अहिले सम्म आवश्यक मोडालिटी समेत बन्न सकेको छैन्। सीमानाकामा परीक्षणको व्यवस्था गर्ने विषय छलफलकै चरणमा रहेकाले छिट्टै टुङ्गोमा पुग्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

प्रतिकृया दिनुहोस्