Monday, March 8

सेर्तुङका ६०० घर एक महिनादेखि अन्धकार

July 19, 2020 227

साउन ४, २०७७ धादिङ : विद्युत् गृहको ट्रान्समिटर बिग्रिएपछि धादिङको रुबिभ्याली गाउँपालिकाको सेर्तुङ गाउँका ६ सय घर परिवारले एक महिनादेखि बिजुली बाल्न पाएका छैनन्। बिग्रिएको ट्रान्समिटर बनाउन आर्थिक अभाव भएपछि गाउँमा विद्युत् आपूर्ति गर्दै आएको १०० किलोवाट क्षमताको खोल्पी लघु जलविद्युत्त आयोजना बन्द हुन पुगेको हो। विद्युत् उत्पादन हुन नसक्दा रुवीभ्याली गाउँपालिकाको वडा नम्बर ३ र ४ का ६ सय घरपरिवार प्रभावित भएका हुन्। आयोजनाको विद्युतगृहमा रहेको ट्रान्समिटरमा खराबी आएपछि विद्युत् उत्पादन रोकिन पुगेको खोल्पी लघु जलविद्युत्त आयोजना सञ्‍चालक समितिका अध्यक्ष चेलामा तामाङले बताए। अध्यक्ष तामाङका अनुसार स्थानीयको श्रमदानसमेत गरी करिब ३ करोडको लागतमा तीन वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र तनहुँले निर्माण गरेको लघु जलविद्युत् आयोजना एक महिना अघिबाट बन्द हुन पुगेको हो। प्रविधिक टोली लान कठिनाइ मर्मत-सम्भारका लागि प्राविधिक टोली तत्काल गाउँमा लैजान कठिनाइ भएको र अर्को ट्रान्समिटर किन्न पनि समितिसँग स्रोत नभएकाले विद्युत् उत्पादन रोकिन पुगेको अध्यक्ष तामाङले बताए। समुदायले आर्थिक अभावले बिजुली बाल्न नपाएको भए पनि सहयोगका लागि गाउँपालिकाले खासै चासो नदेखाएको समुदायको गुनासो छ। यस विषयमा कुरा गर्न वडाअध्यक्ष कामीलाल तामाङसँग मोबाइल सम्पर्कको प्रयास गर्दा फोन उठेन। साविकको सेर्तुङ गाविस पूर्वगृहमन्त्री एवम राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङको जन्मथलो हो। यो बस्तीमा अझैसम्म सडक सञ्जालसमेत जोडिएको छैन।

प्रतिकृया दिनुहोस्