साउन ५, २०७७ काठमाडौं : मनसुन निकै सक्रिय बनेका कारण केही दिनदेखि देशभर अविरल वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार नै लगातार पाँच दिनसम्म पानी पर्ने र बाढी तथा पहिरोको जोखिम हुने जानकारी दिइरहेको छ। आज (सोमबार) पनि देशभरको मौसममा पूर्ण बदली रहनेछ। महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती पनि मौसम बदली यथावत् रहने र सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा उल्लेख्य बढ्ने तथा कोशीका केही सहायक बहाव सतर्कता आसपास हुने अनुमान गरिएको छ। नारायणीका केही सहायक नदीमा बहाव खतराको आसपास रहने देखिएको छ। कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, तिनाउका केही सहायक नदीमा आकस्मिक बहाव खतरा आसपास पुग्ने र प्रदेश नम्बर १ को चुरे र तराईबाट बहने स-साना नदीमा बाढी खतराको तह आसपास रहने पूर्वानुमान गरिएको छ।
July 20, 2020 103
प्रतिकृया दिनुहोस्