Thursday, April 22

सिमा विवादकैबीच भयो प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच फोन वार्ता, यस्तो भयो कुराकानी

August 15, 2020 369

काठमाडौं । दुई देशबीच सिमा विवाद भएकै बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । उनीहरुबीच शनिवार फोनवार्ता भएको छ । तर फोन वार्तामा सिमानाका विषयमा भने कुनै कुरा भएको छैन ।

भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । उनले स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री र समस्त भारतीय नागरिकलाई बधाई दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् ।

नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । भारतीय मिडियामा नेपालका बारेमा आपत्तीजनक समाचार प्रसारण गर्दै आएका थिए । जसको परराष्ट्र मन्त्रालयले टिप्पणी पनि गरेको थियो ।

प्रधानमन्त्री ओली र चिनियाँ राजदुतको विषयलाई लिएर आपत्तीजन सामाग्री प्रसारण गरेपछि प्रेस काउन्सिलले कडा आपत्ती जनाउँदै भारतलाई पत्र लेखेको थियो ।

सिमाना विवादका विषयमा परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको छैन । तर भारतको स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्रीस्तरमा टेलिफो सम्वाद भएको छ । यसलाई सकारात्मक रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीले शनिवार विहानै सामाजिक सञ्जाल मार्फत पनि शुभकामना दिएका थिए । उनले ट्वीट गर्दै शुभकामना दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्