कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा थप कडाइ, सवारीसाधन सुरु बिन्दुबाटै फिर्ता हुन थाले

August 16, 2020 251

काठमाडौं, साउन ३२ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ। यस्तै, पुराना पास देखाएर आउनेहरूलाई समेत नाकामा खटिएका सुरक्षाकर्मीले धमाधम फर्काउन थालेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कुनै पनि बहानामा काठमाडौं उपत्यका भित्रन नपाइने गरी उपत्यका प्रवेशमा कडाइ गरिएको बताए।

‘पुराना पास लिएर आउने र अन्य कुनै काम देखाएर बहानाबाजी गरेर आउने क्रम अझै पनि जारी छ । अब कुनै पनि बहानामा उपत्यका प्रवेश सहज छैन । पुराना पास लिएर आउँदा पनि फर्कनुपर्छ, फर्काइन्छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले भने।

तर बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्न ढुवानी गर्ने साधनलाई भने प्रवेशमा रोक नलगाइने ढकालले जानकारी दिए।

यसैगरी, चार्टर उडानमार्फत विदेश जान हिँडेकाहरूलाई समेत कागजात हेरेर पठाइने गरिएको छ । बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार अत्यावश्यकबाहेकका सवारी साधनलाई प्रवेशको सुरु बिन्दुमा नै रोकिएको छ।

आवश्यकता पुष्टि नभई आउनेहरूलाई भने सुरक्षाकर्मीले धमाधम फर्काइरहेका छन् । यस्तै, अत्यावश्यक दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीमा पनि स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको हेर्ने गरिएको छ।

उपत्यका भित्रने मुख्य नाका नागढुंगा र साँगाबाट गरी शनिबार २ सय ५५ जना यात्रु फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्