Wednesday, June 23

नेपालमा कोरोनाबाट मृतकको सङ्ख्या बढे पनि मृत्युदर भने अझै कम

August 16, 2020 245

काठमाडौँ, ३२ साउन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९का कारण नेपालमा एक सय नेपालीले ज्यान गुमाइसके पनि अन्य देशको तुलनामा मृत्युदुर भने कम रहेको पाइएको छ । विश्वव्यापी रुपमा देखिएको सङ्क्रमण दर र मृत्यु दर अन्य देशहरुको तुलनामा नेपालमा धेरै कम रहेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा सङ्क्रमित संख्या साढे २५ हजार पुगेको छ । वर्ड मिटरका अनुसार नेपाल सङ्क्रमित हुने देशको सूचीमा ६७ औँ स्थानमा छ ।

कम सङ्क्रमित बढी मृत्यु हुने देश
नेपालभन्दा कम सङ्क्रमित हुने अन्य देशमा मृत्युदर अत्यधिक रहेको पाइएको छ । करिब ३४ वटा देशहरुले सङ्क्रमित कम भए पनि मृत्यु हुने दरमा नेपाललाई पछाडि धकेलेका छन् ।
नेपालपछि धेरै सङ्क्रमित भएको देश अष्ट्रेलियामा नेपालमा भन्दा धेरै मृत्युको चपेटामा परेका छन् । त्यहाँ करिब २३ हजार सङ्क्रमित हुँदा ३९४ जनाको मृत्यु भएको छ । त्यस्तै, २२ हजार ८७६ जना सङ्क्रमित हुँदा युरोपेली देश अष्ट्रियामा ७२५ जना दिवङ्गत हुन पुगे ।

यस्तै, करिब २२ हजार सङ्क्रमित रहेको एल साल्भाडोरमा ५९५ जनाको ज्यान कोरोना भाइरसले लिएको छ । करिब १९ हजार सङ्क्रमित रहेको चेक गणतन्त्रमा ३९४ जनाले ज्यान गुमाए भने करिब १८ हजार सङ्क्रमित रहेको क्यामरुनमा ४०१ जनाको मृत्यु भयो । आइभोरी कोष्टमा १७ हजारभन्दा कम सङ्क्रमित हुँदा १०८ जनाको ज्यान गएको छ । यस्तै प्यालेष्टाइनमा १५ हजारलाई कोरोना पुष्टिसँगै १०६ जनाको मृत्यु भएको छ र बोस्निया हर्जगोविनामा ४६९ को ज्यान गएको छ । त्यसैगरी, करिब १५ हजार सङ्क्रमित हुँदा अत्यधिक मृत्यु हुने देशमा डेनमार्क रहेको छ । त्यहाँ ६२१ जनाको मृत्यु भयो भने दक्षिण कोरियामा ३०५ जनाको ज्यान गयो ।

नेपालभन्दा कम मृत्यु सिङ्गापुरमा

अत्यधिक सङ्क्रमित भएर पनि सिङ्गापुरमा नेपालभन्दा कम सङ्क्रमितको मृत्यु भएको छ । त्यहाँ ५५ हजार ५८० जनालाई सङ्क्रमित हुँदा मात्र २७ जनाको ज्यान गएको छ । नेपालभन्दा दुई गुणा बढी सङ्क्रमित रहेको सिङ्गापुरमा करिब चार गुणा कमको मृत्यु भएको छ । नेपालभन्दा बढी सङ्क्रमित हुने देशहरुको मृत्युदर पनि तीन अङ्कमा रहेको छ ।

सिङ्गापुरमा ५१ हजारभन्दा बढीको उपचार भइसकेको छ भने सक्रिय सङ्क्रमित पाँच हजार पनि छैनन् । दश लाखमा पाँच जनाको मृत्यु भएको सिङ्गापुरमा करिब १६ लाख ११ हजारको परीक्षण गरिएको छ । सिङ्गापुरमा ५८ लाख ५५ हजार जनसङ्ख्या रहेको खबर आजको गोरखापत्रले छापेको छ ।

प्रतिकृया दिनुहोस्