Monday, July 26

दृष्टिविहिन तर भैंसी गोठालो, यस्तो छ सञ्जु हजाराको संघर्षको कथा (भिडियो)

August 16, 2020 221

पर्सा । सामान्यतः दृष्टिविहिन भएपछि स–साना कामका लागि पनि अरुको सहारा लिनुपर्छ । तर, जन्मजात दृष्टिविहिन भएपनि सञ्जु दाईको जीन्दगीले भने फरक लय लियो । सञ्जु दाइ उर्फ सञ्जु हजारा । पर्साको जिराभवानी गाउँपालिका–१ शान्तिनगरका सञ्जु दाइलाई जीवन धमिलो लाग्छ । दृष्टिविहिन भएपनि उनी घर बस्दैनन् । लठ्ठी लिएर बाटो पहिल्याउँदै गाउँ डुल्छन् । भैंसी चराउन गाउँका अन्यसँगै जंगल जान्छन् । उनी ठमठमी हिँड्छन् । हिँडाइ हेर्दा यो व्यक्ति दृष्टिविहिन हो जस्तै लाग्दैन ।
निम्न वर्गीय परिवारका सञ्जु दाई परिवारलाई पनि अफ्ठ्यारामा पार्न चाहन्नन् । आफ्ना लागि आफैं दुःख गर्नुपर्छ भन्ने लाग्छ उनलाई ।

पहिले पहिले गाउँका तीन सय देखि चार सय गाइका गोठालो गर्ने सञ्जु दाइ अचेल आफ्नो दुई वटा र अरु दुई जनाका गरी ४ वटा भैंसी चराउँछन् । सञ्जु दाईलाई घरैदेखि पछ्याउँदै हामी उनीसँगै गोठालो गयौं ।

मध्यान्नको साढे १२ बज्दै थियो । सञ्जु दाइ खाना खाइवरी आराम गरेर भैंसी चराउन जाने तरखरमा छन् । लठ्ठी र छाता बोकेर उनी भैंसी फुकाउँदैछन् । वर्षातको बेला भएकाले अचेल छाता साथैमा हुन्छ उनको ।गाउँका अन्य साथीभाइलाई पनि ‘भैंसी फुकाउनु है’ भन्दै कराउँदै छन् सञ्जु दाई ।

साविकको महादेवपट्टी गाविस वडा नम्बर ८ मा पर्ने शान्तिनगर पर्सा राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाउँ हो । वस्ती बस्नुअघि यो ठाउँलाई ‘करमघारी भनिन्थ्यो’ भन्छन् जानकारहरु । झण्डै ५० वर्षभन्दा पुरानो यो गाउँमा सुरुमा काभ्रेबाट तामाङहरु आएर बसे । २०३० सालतिर सुरुमा बसेका सन्तबीर तामाङकै नामबाट यो गाउँलाई सन्तेडाँडा भन्न थालियो तर, समयक्रमसँगै कसैले शान्तिटोल त कसैले शान्तिनगर भन्न थाले ।

विस्तारै कास्कीबाट बाहुन अनि आसापास र अन्य जिल्लाबाट नेवारहरु थपिए । २०५६ सालमा यसै वडाको पिपरा गाउँमा बाढी पसेपछि त्यहाँका झण्डै ४० घरधुरी बाढीपीडितलाई शान्तिनगरको चौरमा ल्याएर बसाइयो । त्यही बाढीपीडित मध्येको हो सञ्जु दाइको परिवार ।

सञ्जु दाइसँगै गाउँका अन्य ४ जना पनि छाता भिरेर भैंसी धपाउँदै जंगल निस्किए । घर नजिकैबाट जंगल सुरु हुने भएकाले भैंसी चर्दै चर्दै झण्डै ४ किलोमिटर परसम्म पुग्छन् । गोठालो भैंसीकै पछि पछि । पानी परेकाले भैंसी हिँडेको हिड्यै छन् । सञ्जु दाई लठ्ठी र अन्दाजको भरमा भैंसीसँगै जंगल भित्र आइपुगे ।

आफ्ना २ वटा र अरु छिमेकीका २ गरेर सञ्जु दाइले यो जंगलमा ४ वटा भैंसी चराइरहेका छन् । दृष्टिविहिन भएपनि छिमेकीले विश्वास गरेर सञ्जु दाइकै जिम्मामा भैंसी पठाएका छन् । आफ्ना २ वटा मध्ये पनि एउटा सञ्जुको परिवारले अधियाँ पालेका भैंसी हो । यो भैंसीको नाम लौरी कान्छी रे । सञ्जु दाइले लौरी कान्छीलाई घन्टि लगाइदिएका छन् । लौरी कान्छी जता जान्छे त्यतै घन्टी बज्छ । घन्टिको आवाज सुनेरै उनले भैंसी कता छन् अन्दाज लगाउछन् ।

बिगत २३ बर्षदेखि सञ्जु दाइको दैनिकी यहि जंगलमा बितेको छ । जंगल छिचोल्ने गोरोटो बाटो सञ्जु दाइ अन्दाजको भरमा हिड्छन् । पहिला पहिला त यो जंगलमा सञ्जुले एक्लै ३÷४ सय गाइ चराउथे । तर अहिले त्यती मेसो पाउँदैनन् । साथीकै पछि लागेर उनी गोठालो आउछन् ।

कहिलेकाँही सञ्जु जंगलमा अलमलिन्छन् । बाटो बिराएपछि सञ्जु दाइ साथीहरुलाई बोलाउँदै भैंसीको चरेको ठाउँ पत्ता लगाउछन् । हाँसी मजाकमा कुनै दिन साथीहरुले पनि झुक्याइदिने भएकाले नजिकै भैंसीले घाँस चरेको आवाज सुनेपछि सञ्जुलाइ ढुक्क हुन्छ ।
दृष्टिविहिन भएपनि अनेकौं गुणले भरिपुर्ण छन् सञ्जु दाइ । गोठोलो जाँदा दिनभरी साथीहरुसँग उनको हाँसीमजाक चलिरहन्छ । सञ्जु दाइ भएपछि समय कटेको र भैंसी अघाएको पत्तै हुँदैन । उनी एकदिन गोठलो गएनन् भने अरु साथीहरु नरमाइलो मान्छन् ।
छिमेकी २ जनाको भैंसी चराएवापत सञ्जु दाईलाई केहि आम्दानी पनि हुन्छ । जसले सञ्जुको पकेट खर्च टरेको छ । लुगाफाटा फेर्न सञ्जुले परिवारको मुख ताक्न पर्दैन । सञ्जु दाई यसैमा खुसी छन् । सञ्जुका तीन दाजुभाइ हुन् । तीन भाइ मध्ये सञ्जु माइला हुन् । दाइ र भाइको संयुक्त परिवारमा सञ्जु पनि अटाएका छन् । आमा बुबा पनि सँगै छन् । दृष्टिविहिन भएकै कारण सञ्जुको विवाह भएन । दाजुभाइकै छोराछोरीले बुढ्यौलीमा साथ देलान् भन्ने विश्वास छ सञ्जु दाइलाई ।

आज पानी परेकाले जंगलमा भैंसी राम्रोसँग चरेनन् । बेलैमा जंगलबाट निस्किएका भैंसी गाउँ नजिकैको खुला चउरमा भने केहि समय अडिए । दिनभरी भैंसीको पछि लागेका गोठालाहरु पनि आराम गर्न थाले । बिस्तारै दिन ढल्कदै गयो । भैंसीको पनि घर जाने बेला भयो । सञ्जु दाइसँगै अन्य गोठालाहरु भैंसीलाई अघि लगाएर घर फर्किए ।
सरकारले अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिन्छ भने सञ्जु दाइलाई थाहा छ । भत्ता प्राप्तीको लागि ३ वर्ष अघिनै सञ्जु दाइले आवेदन दिएका थिए । तर सरकारले दिने भत्ता अहिलेसम्म पाएका छैनन् ।

दैवले ठगेकै थियो । सामाजिक सुरक्षा भत्ता नदिएर सञ्जु दाइलाई राज्यले पनि ठगेको छ । तर, पनि सञ्जु दाइ भित्रको आत्मविश्वास घटेको छैन । आफ्ना लागि आफंै दुख गर्नुपर्छ भन्ने मान्यताले सञ्जुलाई स्वावलम्बी बनाएको छ ।

प्रतिकृया दिनुहोस्