Wednesday, June 23

क्वारेन्टाइनका नर्स भन्छन् : ‘संक्रमित उपचार गर्नेलाई अपराधीजस्तो ठान्न थालियो’

August 22, 2020 96

भदौ ६, २०७७ काठमाडौं : उपत्यकाको एक प्रतिष्ठित अस्पतालकी एक नर्स सन्ध्या (नाम परिवर्तन) साना दुई बच्चा र बुढी आमालाई छोडेर अस्पतालको क्वारेन्टाइनमा बसेको आज एक हप्ता भयो। उनलाई अस्पताल बस्नु ठूलो कुरा रहेन। तर, क्वारेन्टाइनमा बस्दा समाजले कोरोना संक्रमित भनेर सामाजिक बहिष्कार गरिदेला भन्ने उनमा ठूलो डर छ। सधैं झै अस्पताल घर गरिरहने उनी लामो समय टोलमा नदेख्दा कतिपयले ‘कहाँ छौ तिमी?’ भनेर प्रश्न गरिरहन्छन। अनेक बहाना देखाउँदै उनी क्वारेन्टाइनमा बस्दै आएकी छिन। कसैले सोधे उनको जवाफ हुन्छ: ‘अस्पतालले १० दिनको ड्युटी खटाएको छ। अब एकैपटक १० दिनपछि मात्र घर फर्कन्छु।’ क्वारेन्टाइनमा बसिरहेकी उनी अस्पतालले सबै व्यवस्थापन गरेको बताउँछिन्। ‘शारीरिक रुपमा हामिलाई कुनै अफ्ठ्यारो छैन। मानसिक रुपमा पनि म पुर्ण रुपले ठीक छु। अब परीक्षणको नतिजा नआउन्जेलसम्म यहीँ बस्नुको अर्को विकल्प छैन।’ कोरोना बिरामीको उपचारमा सुरक्षाका सबै मापदण्ड पूरा गरेकोले आफुलाई संक्रमण नहुनेमा उनी विश्वस्त छिन्‌। तर, उनीमात्र विश्वस्त भएर अहिलेको लागि दैनिकी चलाउन मुस्किल छ। प्रमाण बिना घर फर्कन उनको मन मानेको छैन। बिरामीको सेवा गरिरहेका अधिकांश नर्सहरुले अहिले आफूबारे सोधखोज गर्नेलाई दिने जवाफ यस्तै हुन्छ। कोरोनाको महामारीबीच फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ क्षेत्रका धेरै व्यक्तिले कोरोनाकै कारण सामाजिक बहिस्कारसम्म भोग्न थालेपछि आफुहरु थप त्रसित बनेको उनीहरू बताउँछन्‌। ‘आफुले उपचार गरेको बिरामीलाई कोरोना पुष्टि भएपछि क्वारेन्टाइन बसिरहेको छु। एकातिर बिरामी जाच्ने जिम्मेवारी अर्को तर्फ कोरोनाको कारण सामाजिक बहिष्कारसम्मका पिडाले आफ्नो मनोवल घट्दै गएको छ’, ती नर्सले निकै भावुक हुँदै सुनाइन्‌, ‘यस्तो महामारीमा जिम्मेवारीबाट हट्न नैतिकताले दिँदैन। आफ्नो नैतिकता जोगाउँदा समाजले आफ्नो नैतिकता भने गुमाइरहेको छ।’ उनी नर्स मात्र होइनन्‌, दुई बच्चाकी आमा पनि हुन्‌। दुधे बालक घरमा छोडेर बिरामीको उपचारमा खटिएकी उनी क्वारेन्टाइनमा बस्नुपर्दा पीडा भएपनि यसको अर्को विकल्प नभएको बताउँछिन्।​अस्पतालमा रोगी उपचार गर्ने थलो हो। चाहे कोरोना या अन्य कुनै रोगी होस्‌ : स्वास्थकर्मीको धर्म उनीहरुको उपचार गर्नु हो। उपचारका क्रममा उनीहरु आफैँ संक्रमित हुँदा समाजले अपराधीकरण गरिरहेको अर्की नर्स आरती (नाम परिवर्तन) ले बताइन्‌। उनी पनि क्वारेन्टाइनमा बसेको आज हप्ता दिनभन्दा बढी भयो। उनको अनुभव पनि सन्ध्याको भन्दा फरक छैन। उनी भन्छिन्, ‘यहाँ बरु अपराध गर्नेलाई लुकाउन खोजिन्छ, बिरामी उपचार गर्ने स्वास्थकर्मीलाई सकेसम्म समाजसामु अपराधी जसरी सार्वजनिक गर्ने गरिएको छ।’ समाजले गर्ने व्यवहारको मुख्य कारण अहिले सामाजिक संजाल बनेको उनी बताउँछिन्।​सामाजिक संजालमा कोरोनाबारे अनेक अफवाह फैलाइएको छ। ‘कोरोना लागे मृत्यु भइहाल्छ’ जस्ता खबर नफैलाउन मिडियालाई र फेसबुक तथा टुइटरमा जथाभावी नलेख्न प्रयोगकर्ताहरूलाई उनी सुझाव दिन्छिन्। भन्छिन्‌, ‘अफवाह फैलाउँदा लाइक, कमेन्ट र सेयर पनि बढ्ला, एकछिन रमाइलो पनि होला। तर, स्वास्थकर्मीले त्यो अफवाहका कारण लामो समयसम्म पीडा भोगिरहेका हुन्छन्। यसतर्फ सोच्न जरुरी छ।’ कोरोना लागेका धेरै व्यक्ति निको भैसकेका छन। तर, शारिरिकरुपमा कमजोर भएका केही व्यक्ती मृत्युवरण गरिरहेका छन्‌। मृत्यु आफैँमा दु:खद घटना हो। मृत्यु भएका सबै व्यक्तिले कोरोनाकै कारण ज्यान गुमाएका हुन भन्ने आशयसहित फैलाइएका अफवाहले समाज थप त्रसित बनेको ती नर्सले बताइन्‌।

प्रतिकृया दिनुहोस्