Sunday, July 25

तीन दिनदेखि बैतडी सदरमुकाम क्षेत्र सुनसान,सबै जात्रा, मेला स्थगन

August 23, 2020 348

बैतडी- गएको तीन दिनदेखि बैतडी सदरमुकाम क्षेत्र सुनसानजस्तै बनेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा भदौ ४ गतेदेखि लकडाउन गरेको हो ।

भदौ १५ गतेसम्म हुने लकडाउन अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । नगरक्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइएको छ । यस्तै नगर क्षेत्रभित्रका बैंकलाई आइतबार, मङ्गलबार र बिहीबार हप्ताको तीन दिन मात्रै खुला राखिनेछ ।

यसैगरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाइ पसल र कपडा पसल बिहान ७ देखि १० बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म मात्रै खुला राखिएका छन् ।

यस्तै धार्मिकस्थलमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा, मेला स्थगन गरिएका छन् भने चाडपर्व आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ । नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिका र ११ वटै वडा कार्यालयले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएका छन् । नगरपालिकाले गरेको निर्णयको कसैले उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्