Tuesday, June 22

कालीगण्डकीले राम मन्दिर बगायो‚ रुप्से झरनाले होटल र पुल

July 21, 2020 408

साउन ६, २०७७ म्याग्दी : निरन्तरको वर्षाका कारण आएको बाढी–पहिरोले म्याग्दीमा क्षति पुर्‍याएको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा आएको बाढीले एक होटल ,पुल र स्काभेटर बगाएको छ। झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बेनी–जोमसोम सडक खण्डअन्तर्गत पर्ने रुप्से झरनाको तल रहेको पुल बगाएको छ। यस्तै, कालिगण्डकी नदी र म्याग्दीको नदीमा पानीको बहाव बढेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ। जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीेले जनाएका छ। कालीगण्डकीले बगायो राम मन्दिर कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–९ गलेश्वरसँगै सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका–२ मा पर्ने राम मन्दिरको भवन बगाएको छ। राम मन्दिरको भवनमा बस्ने सातजनाको समान स्थानीयले सुरक्षित स्थानमा सारेका छन्। मन्दिरमा बस्दै आएका उनीहरु गलेश्वरमा रहेको अन्नक्षेत्रमा आएर बसेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए। कालीगण्डकीमा आएको बाढीले दानामा निर्माणाधीन २२० केभी क्षमताको सब स्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको स्थानीय गंगा पुनले जानकारी दिए। बाढीका कारण कालीगण्डकी, म्याग्दी र राहुघाट नदीको सतह बढेको छ। भुरुङ्ग तातोपानीका बासिन्दा कटानको त्रासका कारण सुरक्षित ठाउँतर्फ गएको स्थानीय प्रेम गुरुङले बताए। तटीय क्षेत्रमा रहेका दरवाङ्ग, बाबियाचौर, तातोपानी, बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगरमा उच्च सतर्कता अपनाइएको छ। I

प्रतिकृया दिनुहोस्