Tuesday, June 22

कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु

August 28, 2020 91

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । वीपीमा उपचारारत मोरङ बेलबारी ५ की ५६ वर्षीया महिलाको शुक्रबार बिहान तीन बजे र त्यसको आधा घण्टाको फरकमा झापा दमक ३ का ८३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

दमकका वद्धमा भदौ ३ गते कोरोना पोजिटिभ आएको थियो । उनमा संक्रमण देखिएपछि ३ गते नै बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा आएका थिए ।

प्रतिष्ठानमा आइपुग्दा मृतकमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको अवस्थामा भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । मृतकको मृगौलाको दीर्घकालिन समस्या भएर डायलाइसिस गर्नुपरेको, उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको समस्या पाइएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

यस्तै बेलबारीकी महिलामा भदौ ९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । कोशी अंचल अस्पतालमा उपचाररत रहेको उनलाई ९ गते नै वीपी भर्ना गरिएको थियो । प्रतिष्ठानमा आइपुग्दा उनमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

दुबैको शव व्यवस्थापनको कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा १५ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमध्ये तीनजना धरानका छन् ।

प्रतिकृया दिनुहोस्