Wednesday, June 23

भारि गिरावट : गुन्द्रुकभन्दा सस्तो बन्यो ब्रोइलर कुखुराको मासु

August 29, 2020 591

काठमाण्डौ – काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भएको छ । काठमाडौँमा आज ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैयाँमा कारोबार भइरहेको छ तर कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज गुन्द्रुकको अधिकतम मूल्य प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार यो सातामा तीन पटकसम्म मूल्य घटेको छ । मूल्य घटे पनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको संघले जनाएको छ ।

निषेधाज्ञाले गर्दा मासुको खपत कम भएको हो। सामान्य अवस्थामा काठमाडौं उपत्यकामा तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, अहिले मासुको माग एकदमै कम भएको संघले जनाएको छ।

सुरुआती लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असार आइपुग्दा बजारमा मासुको अभाव भएको मूल्य ३९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको संघको भनाइ छ । मूल्य आकासिएपछि किसानले उत्पादन बढाएको तर पुनः निषेधाज्ञा सुरु भएपछि मूल्य ओरालो लागेको हो ।

पछिल्लो १५ दिनमा मासुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो भएको र घट्दो मूल्यका कारण किसानको लागत पनि नउठ्ने अवस्था आएको संघले जनाएको छ । सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

तराइका जिल्लामा ब्रोइलर उत्पादन बढेको र ती कुखुरा काठमाडौं भित्रिने क्रम बढ्दा पनि काठमाडौंमा मूल्य ओरोलो लागेको व्यवसायीहरुले जनाएका छन् । काठमाडौं बाहिरका जिल्लामा कुखुराको मासु झनै सस्तो भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्