Thursday, April 15

महाधिवेशन तयारीलाई निकासको सूत्र बना‍औं : नारायणकाजी

July 21, 2020 217

साउन ६, २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। पार्टीभित्रको चर्कोे विवादको कारणले पार्टी विभाजनको संघारमा पुगेको बेलामा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा पार्टी एकताको रक्षा गर्दै सार्वभौमिकता एवम् अखण्डताको रक्षा गर्दै समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्। पार्टीभित्रको विवाद समाधान गरेर एकताको रक्षा, गर्दै यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाउनुपर्ने श्रेष्ठको भनाइ छ। ‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो’ उनले भनेका छन्। ‘तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।’ पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्या समाधानका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, त्यही विषयमा सहमति जुट्न सकेको छैन। प्रधानमन्त्री ओलीको कार्यशैलीमा रुष्ट भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रधानमन्त्रीका राजीनामा माग गरेका थिए। तर, प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने पक्षमा छन्। यही विवादलाई लिएर असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक आजसम्म ८ पटक स्थगित भइसकेको छ। पार्टीभित्रको समस्या समाधान गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमतिको प्रयास गरेको भएपनि जुट्न सकेको छैन।

प्रतिकृया दिनुहोस्