Wednesday, April 21

कोरोनालाई जितेर घर फर्कने तयारी रहेकी महिलाको मृत्यु

September 1, 2020 473

कावासोती, १६ भाद्र। नवलपरासी पूर्व नवलपुरमा कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कने बेलामा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका(६ निवासी ७५ वर्षीया जेष्ठ नागरिक हुनुहुन्छ । कोरोना जितेर घर फर्कने बेला भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको सोमबार मृत्यु भएको हो ।

स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा आइतबार उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । सोमबार डिस्चार्ज हुने तयारीमा रहनुभएकी उहाँको एक्कासी पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

पुरानो मेडिकल कलेजलाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले दिनुभएको जानकारी अनुसार श्वासप्रश्वास, प्रेसर र मुटु सम्बन्धी रोगको उपचार गराइ रहनुभएकी उहाँलाई कोरोनो भाइरस सङ्क्रमण देखिएपछि थप उपचार गराइरहनुभएको थियो । निमोनियाका कारण उहाँको स्वास्थ्य अवस्था सामान्य थिएन ।

मृतक वृद्धालाई निमोनिया भएका कारण आईसीयूमै राखेर उपचार गरिएको थियो । उहाँको रेखदेख बहिनीले गरिरहनुभएको थियो । तर, पछि बहिनीमा पनि कोरोना पोजिटिभ देखिपछि उहाँ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचारका लागि आउनुभयो । त्यसपछि हेरचाहका लागि उहाँको नातिनी पुग्नुभयो तर, नातिनीमा पनि कोरोना पोजिटिभ देखिएपछि केही दिनयता वृद्धाको हेरचाह गर्ने आफन्त नभएको पुरानो मेडिकल कलेजका सिईओ सुप्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार उहाँको परिवारमा पाँच जना सदस्य रहेको तर, पाँचै जनामा कोरोना पोजिटिभ आएको भन्ने खबर पाएर परिवारका सदस्यसँग बुझ्दा सबैजना आइसोलेसनमा भएकाले आउन नसक्ने बताउनुभएको थियो । घरका सदस्य कोही नभएको भन्दै मृतक वृद्धाको शव बुझ्न कोही पनि नआएको श्रेष्ठले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

परिवारका सदस्य सबैमा कोरोना सङ्क्रमण भएकाले शव व्यवस्थापनका लागि उहाँका अन्य आफन्तसँग कुराकानी भइरहेको विनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कुबराज काफ्लेले जानकारी दिनुभएको छ । मृतकका आफन्तले मृतकको पुनः स्वाब परीक्षण गर्नुपर्ने माग राखेको काफ्लेले बताउनुभयो ।

यस्तै, नवलपुरमा अहिलेसम्म ४६७ जनामा सङ्क्रमण देखिएको छ । सोमबार निधन भएकी वृद्धासहित ३४० जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंले बताउनुभयो ।कोरोना सङ्क्रमणबाट नवलपुरमा अहिलेसम्म एकजनाको मृत्यु भएको छ भने १२६ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

प्रतिकृया दिनुहोस्