Wednesday, June 23

संक्रमित अध्यक्ष भन्छन् : मलाई त छि:छि दूरदूर गरे, अरुलाई कस्तो होला ?

September 1, 2020 219

भदौ १५, २०७७ नवलपरासी बर्दघाट सुस्तापश्चिममा पनि प्रतिदिन कोरोना संक्रमित संख्या बढ्दै गइरहेको छ। समु्दायस्तरमा पनि कोरोना संक्रमण फैलिसकेपछि जिल्लामा अहिले त्रास फैलिएको छ। जिल्लामा रहेका सात वटा स्थानीय तहमध्ये पाल्हिनन्दन गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन्।यो भारतसँग सीमा जोडिएको स्थानीय तह हो। सीमामा लुकीछिपी भइरहेको आवतजावतले संक्रमण बढाइरहेको छ यतिबेला यसै गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) स्वयमलाई पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयासमा दिन रात खट्दा खट्दै गत भदौ ७ गते संक्रमण पुष्टि भयो हाल उनी आफ्नै घरमा होम आइसोलेसनमा छन्। उनीसँगै उनका परिवारका सबै सदस्य कोरोना संक्रमित भएका छन्। संक्रमित भएपछि समाजका व्यक्तिले देखाउने अनौठो व्यवहार, तिरस्कार र घृणाले संक्रमितलाई अझै ठूलो चोट परिरहेको उनी बताउँछन्। गाउँपालिका अध्यक्ष उनी आफैं यस्तो विभेदमा परेको बताउँछन्। यस्तै केही नमिठो अनुभव उनले सँगालेका छन्। थाहाखबरकर्मी विष्णु खनालले कोरोना संक्रमण र समाजले हेर्ने नजरबारे उनै अध्यक्ष गुप्तासँग गरेको कुराकानीको सम्पादित अंश स्वास्थ्य कस्तो छ अहिले ? पहिलाभन्दा केही सामान्य छ। कोरोना लागेसँगै निमोनिया पनि भयो, निमोनियाले अलिकति असर गर्यो, आज कोरोना लागेको पनि ९ दिन भैसक्यो। घरमै बसेर कोरोनासँग लडिरहेको छु। मेरो आफ्नै भाइ डाक्टर हुनुहुन्छ, उहाँले नै घरमै उपचार गरिरहनुभएको छ। सुई लगाउने देखि औषधि घरमै भैरहेको छ। स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ। कहिलेकाहीँ हस्पिटल पनि जाने गरेको छु। हस्पिटल आउन-जान कसरी व्यवस्था मिलाउनुभएको छ त ? मेरो हातमा दिनको ४ वटा सुई लगाइन्छ। कमजोरी भने महसुस भैरहेको छ। मेरो परिवारसहित ड्राइभरलाई पनि कोरोना भएको छ। त्यसो हुँदा हस्पिटल जाँदा सबै काम भाइले नै गर्नुहुन्छ। ​सँगै बोत्तल चढाउनेदेखि लिएर एक्सरे पिपिइ आदि सबै उहाँले नै गर्नुहुन्छ। तपाईंमा कसरी संक्रमण भयो ? पालिकाका सबै बुबाआमा, दाजुभाइ दिदीबहिनी सबैलाई म आफ्नो परिवार झैं सम्झन्छु। उहाँहरुको समस्या समाधानमा खटिरहँदा कतिबेला भयो थाहै भएन। यहाँ संक्रमण दिनप्रतिदिन बढ्दो छ, आफै पनि संक्रमित हुनुहुन्छ। अब संक्रमण रोक्न के पहल गर्नुहुन्छ त ? पहिलेको तुलनामा सीमामा आवतजावतमा निकै कमी आएको छ। बोर्डरमा पहिलेनै पूर्ण रुपमा रोक लगाउन सकेको भए आज यो स्थिति आउने थिएन। सीमामा खटिएका सशस्त्र प्रहरीहरुलाई पनि निकै गाह्रो छ। यता बाटोमा बसे उताबाट सीमा वारपार गर्छन्। तर अहिले सीमा सिल गरेसँगै पूर्ण नियन्त्रण छ। अहिले म संक्रमित भएपश्चात् गाउँपालिकाको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत दिनेश गौणले पूरै हेरिरहनुभएको छ। उहाँसँगै अरु जनप्रतिनिधि पनि हुनुहुन्छ। कोरोना संक्रमित भैसकेपछि तपाईंको दैनिकी कस्तो चलिरहेको छ त? दैनिक बस्तीमा घुमेर स्थानीसँग भेटघाटमा बित्ने समय अहिले घरभित्रै बस्नुपर्दा केही गाह्रो भएको छ। बीचमा निमोनियाले केही जटिटलता थपेको थियो तर अहिले भने सामान्य अवस्थामै फर्किसकेको छु, संक्रमित भैसकेपछि परिवार नै बिहानै योगा गर्ने जडिबुटीको सेवन गर्नै, मोबाइल, टिभी, हेरेर बस्ने गछौं। कोरोना संक्रमण रोकथामका लागि नागरिक गम्भीर नभएका हुन् जस्तो लाग्दैन तपाईंलाई ? आम जनताको बुझाइमा यो कोरोना केही होईन भन्ने भएको थियो। तर जब गाउँमै देखिन थाल्यो, भैरहवामामै मान्छे मर्न थाले। अनि बल्ल मान्छे डराउन थालेका छन्। अहिले सबै गाउँ नै सुनसान पाउनु हुन्छ। समुदायले कोरोना संक्रमितप्रति गर्ने व्यवहारप्रति स्वयं तपाईंको भोगाइ कस्तो छ ? कोरोना लाग्दैमा समाजमा उसलाई हेर्ने नजर निकै दुखदायी छ। कोरोना लागेका व्यक्तिको घरमा दूध, पानी, तरकारी नदिने आदि समस्या छ। यसले गर्दा संक्रमित चिन्ताले नै मर्न बेर लाउँदैन। त्यसको साटो उसलाई सद्भाव, मायासँगै २/३ मिटरको दूरीमै बसेर सरसल्लाह तथा हौसला बढाउने काम गर्नुपर्छ। मलाई समेत २/४ जनाले त्यस्तो खालको व्यवहार देखाउनुभयो। अझ १ जनाले त मलाई म अस्पताल जाँदा पाल्हिनन्दन गाउँपालिकाको अध्यक्ष कोरोना संक्रमित हुँदाहुँदै पनि बाहिर हिँड्यो भन्दै म मेरो फोटो खिचेर सामाजिक संञ्जालमा हाल्दिए। मेरो घरमा १ जना वृद्धले दूध ल्याइदिनुहुन्थ्यो। मेरा अगल बगलकाले नानाथरी सुनाएपछि दूध दिनसमेत छोडिदिए। म गाउँपालिका अध्यक्ष हुँदा त यस्तो छ अझ आम नागरिकले कति पीडा खेप्नु परेको होला ?

प्रतिकृया दिनुहोस्