Thursday, April 22

स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती

September 1, 2020 243

काठमाडौं- कोभिड-१९ संक्रमितको संख्या बढदै गएको अवस्थामा स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ ।

कोरोना संक्रमण फैलिने त्रासले फोहोर व्यवस्थापनमा चुनौती थपिएको सम्बन्धित क्षेत्रका विज्ञहरुले धारणा राखेका हुन् ।

 

गैर-सरकारी संस्था गुथिले विश्व स्वास्थ्य संगठन नेपालको सहकार्य र काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको उपस्थितिमा फोहोर व्यवस्थापनका विषयमा छलफल गरेको हो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका नेसनल प्रोफेसनल अफिसर डा. सुदन पन्थीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘‘कोभिड महामारीको आपतकालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन’’ नामक आन्तरिक निर्देशिका बारेमा समेत जानकारी दिएका थिए ।

उनले कोभिड १९ का बिरामीहरुले फोहोर संकलनका लागि प्लाष्टिकको झोला (वायोहाजार्ड ब्याग) को प्रयोग गर्नुपर्ने जानकारी दिए । यसैगरी आइसोलेसनमा बसेका बिरामीहरुले आफ्नै कोठामा उक्त झोलामा फोहोर संकलन गर्ने र राम्ररी बाँधेर ७२ घण्टासम्म राखेपछि त्यसलाई गाडीमा फँयाक्न मिल्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले हाल कोभिड-१९ को संक्रमणको जोखिम रहेको हुँदा सचेत भएर फोहरसँग व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु श्रेष्ठले सरकारले फोहरमैला व्यवस्थापनलाई प्राथमिक्ता नदिएको तथा सरसफाईकर्मीको सुरक्षा र जिविकोपार्जनमा ध्यान नदिइएको बताए ।

उनले क्वारेन्टाइन सेन्टरबाट निस्कने फोहर, कोरोना रोगीले प्रयोग गर्ने सामग्री र कोरोना उपचारार्थ अस्पतालबाट निस्कने फोहर पानी व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने बताए ।

फोहरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धुव्र आचार्यले फोहोरमैला व्यवस्थापनमा पूर्वाधारको कमि रहेको बताउदै अहिलेसम्म फोहोर वर्गिकरण र पुनःप्रयोग पाइलट प्रोजेक्टमा मात्र सीमित रहेको जनाए ।

हाल काठमाडौं उपत्यकामा ३ हजारभन्दा बढी विरामी घरमा सेल्फ आइसोलेसनमा रहेको हुँदा ती घरहरुबाट उठ्ने फोहर पनि सामान्य फोहोरमा मिसिने तथ्यबारे उक्त कार्यक्रममा जानकारी दिँदै विरामीको गोपनियता कायम राख्दै संक्रमितले घरबाट निस्कने फोहोर छुट्टै संकलन गर्न र संक्रमित फोहर संकलन गर्न वायोहाजार्ड ब्यागको व्यवस्था मिलाउनुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर मान डंगोलले फोहरमैला व्यवस्थापनमा नेतृत्व महानगरले नै लिएको र सवैले प्रतिवद्धता जनाउने हो भने जीरो वेष्टमा पनि महानगपालिका जान सक्ने बताए ।

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका फोहोरमैला संकलन गर्ने कम्पनीहरुलाई हालसम्म कुनै दस्तुर वा शुल्क नलिई काम गर्ने वातावरण बनाई रहेको र निजी कम्पनीहरुले पनि आफ्नो व्यवसायलाई अझ सुरक्षित गर्न आफैले लगानी गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराए ।

ललितपुर महानगरपालिकाका अधिकृत प्रदीप अमात्यले ललितपुर महानगरपालिकामा कार्यरत सरसफाईकर्मीको १ लाखको कोभिड विमा भएको र विभिन्न संघसंस्था मार्फत पीपीई उपलब्ध गराएको बताए ।

अनौपचारिक सरसफाईकर्मीको हकमा महानगरले सरसफाई कम्पनीलाई निजी कम्पनीको दर्जा दिएको र त्यसकारण यी कम्पनीमा कार्यरत कर्मचारीलाई चाहिने सामग्री कम्पनीले प्रदान गर्ने धारणा महानगरपालिकाको रहेको बताए ।

कीर्तिपुर नगरपालिकाका वातावरण अधिकृत ज्ञान वज्र महर्जनले किर्तिपुर नगरपालिकाले महामारीको अवस्थामा फोहर व्यवस्थापनमा लागेका सरसफाईकर्मीलार्ई पीपीई वितरण गरिएपनि सरसफाईकर्मीद्वारा त्यसको प्रयोग पूर्णरुपमा नभएको बताए ।

मध्यपुर थिमी नगरपालिकाका वातावरण अधिकृत तुल्सी भक्तले हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या अत्यन्तै बढेको अवस्थामा संक्रमित फोहर व्यवस्थापन स्थानीय तहको लागि ठूलो चुनौती रहेको जनाए ।

कार्यक्रममा फोहोरमैला विशेषज्ञ महेश नकर्मीले पीपीई वितरण मात्र गरेर नपुग्ने र सरसफाईकर्मीलाई यसको सही प्रयोगकको विषयमा तालिम दिइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कोभिड महामारीको समयमा संक्रमण नियन्त्रण गर्न फोहरमैला व्यवस्थापन एक अत्यावश्यक अंग रहेको बताए ।

 

 

 

 

प्रतिकृया दिनुहोस्