Friday, April 23

सभामुखको पहलमा अभिभावक गुमाएका बालवालिकालाई संरक्षण र शिक्षा

September 2, 2020 174

काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ ।

सभामुखको आग्रहमा एस ओ एस बालग्राम, काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोली हिजो मंगलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडा अध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एस ओ एसले हिजै देखि बालवालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको छ ।

लिदीका अभिभावक गुमाएका १२ बर्ष मुनीका पाँच जना बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एस ओ एस बालग्राम ल्याएर पठनपाठन सुरु गर्ने निर्देशक अमगाईले जानकारी दिनुभयो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिने लगायतका विषयमा हिजो नै छलफल भएको छ ।

बाँकि १२ बर्ष माथिका ७ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने अमगाईले जानकारी दिनुभयो । उनीहरुका लागि अस्थायी बसोबासस्थलमै शिक्षा र सहयोेग हुने उहाँको भनाई छ ।

यहि भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताउनुभएको थियो ।

लगत्तै काठमाडौं फर्केर सभामुख सापकोटाले एस ओ एस बालग्रामका अधिकारीहरुसँग छलफल गरी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका प्रवन्ध मिलाइदिन आग्रह गर्नुभएको थियो ।

गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ ।

यसैबिच लिदी लगायतका जोखिमयुक्त बस्ती स्थानान्तरणका सम्बन्धमा मंगलबार साँझ बृहत् अन्तरक्रिया भएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा बसेको विपद व्यबस्थापन समितिको भर्चुअल बैठकमा हाल सम्म प्राप्त जोखिमयुक्त बस्ती सम्बन्धि विवरण तत्काल संघीय सरकारलाई पठाउने, ति बस्तीहरुको भौगर्भिक अध्ययन गर्ने र त्यसपछि स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वयमा विस्थापितहरुका लागि नमुना एकिकृत बस्ती निर्माण गर्ने सहमती बनेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जिल्लामा विस्थापितहरुका लागि स्थायी बसोबासका लागि कानून बाधक भए सदन नचलेको अबस्थामा अध्यादेशमार्फत कानून ल्याएर भएर पनि सहजीकण गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको बताउनुभयो ।

सापकोटाले विपत्तिलाई अवसरका रुपमा बदल्नेगरी काम गर्न सबैलाई आग्रह गर्नुभयो । जिल्लामा प्राकृतिक र कोरोना गरी दोहोरो विपत्ति आइलागेकोमा चिन्ता व्यक्त गर्दै क्षेत्र नं १ का संघीय सांसद समेत रहनुभएका सभामुख सापकोटाले बाढी पहिरोबाट विस्थापितहरुका लागि नमुना काम गर्न सबै जुट्नुको विकल्प नभएको बताउनुभयो ।

संघीय सांसद शेर बहादुर तामाङ, राष्ट्रिय सभाका सदस्य सिंहबहादुर बिक, प्रदेश साँसद सरेश नेपाल, रमेश पौडेल, निमा लामा, सिन्धुपाल्चोकका स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला जनश्वास्थ्य प्रमुख, पत्रकार महासंघ, गैरसरकारी सँस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको जुम बैठकमा जिल्लामा निषेधाज्ञाको स्वरुपबारे पनि छलफल भएको थियो । ( तस्बिर : सभामुख सापकोटाको फेसबुकबाट )

 

प्रतिकृया दिनुहोस्