Sunday, June 20

बागलुङ पहिराे : फोनले बचायो धेरैको ज्यान

September 4, 2020 365

बागलुङ / यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन । अहिले कसरी बस्तीमै आयो भन्ने कल्पनासमेत गर्न सकिएको छैन– उद्धारमा पुग्नुभएका अनिल विश्वकर्माले भन्नुभयो ।

स्थानीयवासीका अनुसार ढोरपाटन सिकार आरक्ष क्षेत्र नजिकैको सुर्तीवाङ लेकबाट खसेको पहिरोले थुनिएको सानो खोला एक्कासि खुल्दा खोलामा बाढी आएको हो । स्थानीय कल्याण कायतले बुधबार राति पानी परे पनि नदीमा त्यति ठूलो बहाव आउला भन्ने सोचेकै थिएनौँ, ढुङ्गा माटो सहितको पहिरोले थुनिएको खोला एक्कासि खुल्दा बहाव बढेर आए जस्तो लाग्यो भन्नुभयो ।

रातको समयमा माथिबाट बाढी आएको जानकारी तटीय क्षेत्रमा फल्लेघर क्षेत्रवासीले फोनमार्फत गराएपछि धेरै जना भागेका थिए ।

माथिबाट फोन आएकै कारण लाकुरीबोटमा धेरै भौतिक क्षति पुगे पनि मानवीय क्षति कम भएको छ, दुना पधेरामा फोन सम्पर्क नहुँदा भौतिक क्षति कम भए पनि मानवीय क्षति बढी भएको स्थानीय चेतबहादुर विकले बताउनुभयो ।

विकले हामी रातको समयमा सुतिरहेका थियौँ, माथिबाट बाढी आएको खबर आएपछि कोही भागे भने कोहीले यस्तो बेलामा पनि बाढी आउँछ, भनेर वास्ता गरेनन्, भाग्ने बाँचे, वास्ता नगर्ने बाढीसँगै बगेर गए भन्नुभयो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेले लाकुरीबोटदेखि माथि धेरै ठाउँमा क्षति भएको जानकारी दिनुभयो ।

वोवाङवासीको दुईतर्फ (ढोरपाटन र वोवाङ) बसाइ हुने भएकाले तल्लो भेगमा आधा मानिस मात्र भएको र माथिबाट फोन सम्पर्क, होहल्ला गरेर तटीय क्षेत्रवासीलाई बाढीको जानकारी दिएका कारण मानवीय क्षति बढ्न नपाएको न्यौपानेले बताउनुभयो । गोरखापत्र दैैैैनिकबाट

 

प्रतिकृया दिनुहोस्