Friday, April 23

व्यवसायी सोध्छन्‌ : अब पसलको चाबी घरधनीलाई बुझाउनुपर्ने हो ?

September 5, 2020 269

भदौ २०, २०७७ काठमाडौंः ‘अरु व्यवसाय छैन, कमाइखाने आधार भनेकै यही पसल हो, यो पनि बन्द छ, अब कसरी परिवार पाल्ने?’ जारी कोरोना महामारीले पारेको प्रभावबारे सोध्‍दा गोकर्ण नाम्गेलमा कपडा पसल चलाइरहेका विष्णुदेवी श्रेष्ठ यही जवाफ दिन्छिन्‌। सरकारले भदौ ३ गतेबाट उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेसँगै उनको पसल बन्द छ। निषेधाज्ञा थपिदै जाँदा झनै उनी चिन्तित छिन्‌। कोरोना महामारीकै कारण रोजीरोटी खोसिएको छ। दशैं र तिहारलगायत ठूला चाडबाड आउँदै गरेकाले उनलाई एकातिर लुगाको सिजन सकिन्छ भन्ने चिन्ता छ, अर्कोतिर परिवारको। उनी भन्छिन्, ‘काम गरेर खानै पाइएन्‌, पसल नै कमाइको आधार थियो, त्यो बाटो पनि बन्द भयो।’ उनले अहिलेको सिजन अनुसारका लुगा किनेर ल्याइसकेका छन्‌। तर बिक्ने-नबिक्ने टुंगो छैन। भन्छिन्‌, ‘पछि सिजन सकेपछि यी सबै लुगा ग्राहकले मन पराउँदैनन्,’उनले समस्या सुनाइन,‘कम मुल्यमा बेच्नुपर्छ। यस्तो गर्दा धेरै घाटामा गइन्छ। यसको क्षतिपूर्ति कसले व्यहोर्ने?।’यी समस्या विष्णुदेवीले अहिले मात्रै भोगेकी होइनन्‌। चैत महिना भएको लकडाउनदेखी समस्या भोगेकी हुन्‌। बीचमा लकडाउन खुलेपछि उनमा आशा पलाएको थियो। तर, उनको ती आशा धेरै समय टिकेन्‌। उनले भनिन्‌, ‘पहिला भएको लकडाउनमा पनि धेरै समस्या भोगियो। अब समस्या टर्ला भन्ने लागेको थियो। तर, होइन रहेछ। फेरी पसल बन्द गरेर घरभित्रै बस्नुपर्ने दिन आयो।’ सरकारले जारी राखेको निषेधाज्ञा मात्रै कोरोना रोकथाम होइन की भन्ने उनलाई लाग्‍न थालेको छ। अहिलेको परिस्थितिलाई आंकलन गर्दै उनी भन्छिन्‌, ‘कोरोना संक्रमण रोकथामको उपाय निषेधाज्ञा मात्रै होइन होला, अहिले निषेधाज्ञा छ, तर कोरोना संक्रमण त बढिरहेको छ।’ सरकारले वैज्ञानिक ढंगबाट कोरोना रोकथाम गर्न नसकेको उनको गुनासो छ। उनी थप्छिन्‌, ‘हामीलाई नुनतेल किन्नै समस्या भैसक्यो, सरकारले पनि भाडा र करमा छुट दिँदैन होला, अब समय मिलाएर भएपनि पसल खोल्न दिनुपर्छ। हामी स्वास्थ्य मापदण्ड पालना गर्न तयार छौँ।’ ‘चाबी घरबेटीलाई बुझाउने बेला भैसक्यो’ जोरपाटी चोकमा कपडा पसल गर्दै आएका जगदीश श्रेष्ठले लामो समयसम्म भएको बन्दाबन्दीका कारण पसलको चाबी नै घरधनीलाई दिनुपर्ने अवस्था आएको बताए‌। उनले भने, ‘निषेधाज्ञाले व्यापार गर्न पाएको छैन, कसरी सटर भाडा तिर्ने?अब त पसलको चाबी घरधनीलाई दिने अवस्था आइसक्यो।’ उनका अनुसार मासिक सटर भाडा ४० हजार रुपैयाँ तिर्नुपर्छ। तर, अहिले व्यापार नभएका कारण सटर भाडा तिर्न सकस छ। उनले कर समेत तिर्न समस्या भएको सुनाए। ‘सरकारले पसल सञ्चालन गर्न दिँदैन,’ उनले भने, ‘तर कर भने तिर्न ताकेता गर्छ। हामीले चाहिँ कहाँबाट ल्याएर तिर्न सक्छौँ? यहाँ परिवार पाल्नै सकस भैसक्यो।’ जनतालाई घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने उनी बताउँछन्। ‘सरकारले जनतालाई घरभित्रै थुनेको ६ महिना हुन लागिसक्यो,’ आक्रोश पोख्दै उनले भने, ‘लकडाउनले मात्रै कोरोना हट्दैन होला नि! के सरकारले अरु उपाय अवलम्बन गर्न नसकेको हो? कोरोनाबाट बच्नुपर्छ भन्ने हामीलाई पनि थाहा छ। तर, यसरी भोकभोकै जनतालाई मार्नु त भएन नी!’

प्रतिकृया दिनुहोस्