ड्युटीमै निधन भए प्रहरी जवान तर कोरोना नजाँचिने

September 5, 2020 341

भदौ २०, २०७७ कैलाली : कञ्चनपुरको दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ। शुक्रबार राति १२ बजे ५ नम्बर पोस्टको ड्युटीमा खटिएका जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो। ड्युटीमा खटिएका बेला एक्कासि ढलेर बेहोस भएका ऐरको उपचार क्रममा शनिबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी डडेल्धुराको अजयमेरु गाउँपालिका २ का हुन्। एक वर्षदेखि दंगा प्रहरी गण बंकमा कार्यरत रहेका कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमरबहादुर थापा क्षत्रीले जानकारी दिए। एक्कासि बेहोस भएर मृत्यु भएका ऐरको कोरोना परीक्षण नुहने भएको छ। डाक्टरको सल्लाह अनुसार नै कोरोना परीक्षण नगर्ने निणर्य भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले जानकारी दिए। सेती अस्पतालले बेहास भएर मृत्यु भएकाको परीक्षण गर्दै आएको थियो। भदौ १ गते भारतको सुरतबाट घर फर्किदै गर्दा गौरिफन्टा नाकामा मृत्यु भएकी गोदावरी नगरपालिका–१२ की एक वृद्धा जलु मिजारको कोरोना परीक्षण गरेको थियो। उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो। यस्तै भदौ १३ गते भारतको राजस्थानबाट फर्किएर धनगढीमा बेहोस भई मृत्यु भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका–४ का ५२ वर्षीय लोकबहादुर रावलको अस्पतालले कोरोना परिक्षण गरेको थियो। रावलको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

प्रतिकृया दिनुहोस्