Sunday, June 20

अकबरे खुर्सानीसँग रमाएका तेजनारायण, वार्षिक कमाउँछन् १५ लाख

September 7, 2020 353

भदौ २२, २०७७ ओखलढुङ्गा : सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका तेजनारायण श्रेष्ठ अकबरे खुर्सानीसँग रमाइरहेका छन्। नौ वर्षअघि धन कमाउने सपना बुनेर कतार पुगेका उनी भनेजस्तो कमाइ नभएपछि गाउँ नै फर्किए। गाउँमा काम गर्ने मेसो नपाएपछि फेरि उनी मलेसिया लागे। तर, मलेसियाले पनि उनको सपना पूरा गर्न सकेन। जसोतसो साढे दुई वर्ष त्यहाँ समय बिताएर नेपाल फर्किएपछि उनी अकबरे खुर्सानी खेतीमा रमाइरहेका छन्। ओखलढुङ्गामा मल्चिङ प्रविधिबाट खेती भित्राउने उनी पहिलो किसान हुन्। परम्परागत तथा निर्वाहमुखी खाद्यबाली त्यागेर सुरुमा उनले आफ्नो पैत्रिक सम्पत्तिको ११ रोपनी जग्गाबाट अकबरे खेती थालेका थिए। चार वर्षको अन्तरमा अहिले भाडासहित गरेर २७ रोपनीभन्दा बढी क्षेत्रमा अकबरे खुर्सानी र अन्य तरकारी खेती गरिरहेका छन्। ३१ वर्षीय तेजनारायण श्रेष्ठले वार्षिक १५ लाख रूपैयाँभन्दा बढीको अकबरे खुर्सानी बेच्छन्। सातामा शनिबार र बुधबार दुईपटक ओखलढुङ्गा सदरमुकाममा लाग्ने हाटमा उनले खुर्सानी बिक्री गर्दै आएका छन्। उनले कसैको सहयोगबिना व्यक्तिगत पहलमा खेती सुरू गरेका हुन्। अहिले उनीसँग मल्चिङ प्रविधि बुझ्न र कसरी गर्ने भनेर सिक्न किसानहरू आउने गरेका छन्। मल्चिङ विधि अपनाएर खेती गर्दा उत्पादन लिन सकिन्छ भनेर सुरूमा कसैले विश्वासै गरेनन्। गाउँलेले मात्र नभएर बुवाआमाले समेत उनलाई गाली गरे। तर, उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरेको श्रेष्ठले बताउँछन्। उनले इन्टरनेटको माध्यमबाट मल्चिङ विधिबारे थाहा पाएका हुन्। विदेशबाट फर्किएपछि चार वर्षअघि के गर्ने भनेर सोचिरहेका श्रेष्ठले युट्युबमा मल्चिङ विधिबाट खेती गर्न सकिनेबारे थाहा पाएपछि त्यसैको आधारमा यो खेती सुरू गरेको बताउँछन्। मल्चिङ विधिबाट कोरिया, जापानलगायतका देशले मनग्गे आम्दानी गर्दै आएका छन्। माटोको ड्याङ बनाई मल्चिङ प्लाष्टिकभित्र बेर्ना रोपेर गरिने यो खेती विकसित मुलुकमा सफल खेती प्रणाली मानिन्छ। खुला प्रविधिभन्दा यसले उत्पादन तेब्बर दिने र कम परिश्रम गर्नुपर्ने भएकाले सजिलो भएको श्रेष्ठले बताए। मल्चिङ प्लाष्टिकको कारणले फेदमा धेरै झार नउम्रिने र गोडमेल गर्नु नपर्ने भएकाले यो प्रविधि सजिलो भएको तेजनारायण बताउँछन्। उनले अब कहिल्यै विदेश नजाने सोच बनाएको र विदेशमा गएर पसिना बगाउने सोच बनाएका युवाहरुलाई पनि गरे आफ्नौ देशमा सुन फल्छ भन्ने सल्लाह दिन थालेका छन्।

प्रतिकृया दिनुहोस्