Friday, July 30

भदौ २४ पछि निषेधाज्ञा हुँदैन

September 8, 2020 312

काठमाडौं । सरकारले भदौ २४ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधी थप नगर्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधी थप नहुने संकेत गरेका छन्। सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत दिएका हुन् ।

सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि स्थायी कमिटी २६ गते राख्ने सहमति भएको हो । प्रधानमन्त्री ओलीले निषेधाज्ञा अन्त्य भएपछि मात्र स्थायी कमिटी बैठक आयोजना गर्ने भन्दै आएका थिए । यसअघि आइतवार आयोजित व्यवसायीहरूसँगको छलफलमा पनि प्रधानमन्त्री अब नागरिकको जीवन र व्यवसाय पनि बचाउने गरी ‘मध्यमार्गी बाटो’ खोज्ने बताए ।

छलफलका क्रममा निषेधाज्ञा हटाएर व्यवसाय सञ्चालन गर्न दिने विषयमा आफू सकरात्मक रहेको प्रधानमन्त्री ओलीले बताएको छलफलमा सहभागी उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा तीन हप्तादेखि निषेधाज्ञा जारी रहेपनि कोरोना संक्रमितको संख्या घटेको छैन। अर्कोतिर बजार व्यवसाय ठप्प हुँदा सयौं मानिस बेरोजगार भएर खान नपाउने अवस्थामा पुग्न थालेका छन्। श्रमिकहरू कमाइ नहुँदा डेराबाट सडकमा पुगेका छन्। व्यवसायीहरूले लगातार निषेधाज्ञा नगर्न दबाब दिइरहेको अवस्थामा आइतबार प्रधानमन्त्री ओलीले केही अगुवा व्यवसायीहरूसँग बालुवाटारमा छलफल गर्दै अब नागरिकको जीवन र व्यवसाय पनि बचाउने गरी ‘मध्यमार्गी बाटो’ खोज्ने बताएका छन्।

हाल अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले भर्खरै अर्थमन्त्रीबाट विदा भएका युवराज खतिवडालाई समेत राखेर छलफलमा व्यवसायीले राखेका समस्या र माग ध्यानपूर्वक सुनेका थिए। र, निषेधाज्ञा ह’टाएर व्यवसाय सञ्चालन गर्न दिने विषयमा आफैंले मुख खोलेका थिए। ‘कोरोना महामारी चलिरहेको छ, त्यसबाट मानिसको ज्यान बचाउनुपर्ने सरकारको पहिलो जिम्मेवारी हो’, प्रधानमन्त्री ओली भनाइ उधृत गर्दै छलफलमा सहभागी उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘साथै उद्योग व्यवसाय बचाउने पनि सरकारको जिम्मेवारी हो।

त्यसैले अब यो दुबै बचाउने गरि मध्यमार्गी बाटोबाट सरकार हिंड्ने छ।’ ‘अहिलेसम्म जे भयो भयो, अब चाहिँ उद्योग व्यवसाय खुलाउने कुरा प्रधानमन्त्री आफैंले गर्नु भनेको सकारात्मक हो’, गोल्छाले थपे, ‘प्रधानमन्त्रीले अब व्यवसायीसँग यस्ता भेट निरन्तर गर्ने बताए ।

छलफलमा सहभागी भएका नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले निजी क्षेत्रलाई सहज हुने नीति निर्माण गर्न र हालका केहि व्यवस्था परिमार्जन गर्न प्रधानमन्त्री सकारात्मक रहेको आफुले पाएको बताए। ‘हामीले कोरोना माहामारी र बन्दाबन्दीको कारण देखाउँदै निजी क्षेत्रप्रति सरकारले लिएको नीति परिवर्तन गर्न माग गरेका थियौं’, अध्यक्ष सतिश मोरले भने, ‘कर तिर्ने समयसीमा, सरकारले लिने जरिवानाको नियम परिवर्तन गर्नुपर्ने माग पनि गरेका थियौं। ती दुबै मागमा प्रधनमन्त्री सकारात्मक देखिनु भएको छ।’

प्रतिकृया दिनुहोस्