Thursday, May 13

आफ्नै खर्चमा विदेशबाट घर फर्केका श्रमिकको पैसा फिर्ता हुन्छ : श्रममन्त्री

September 11, 2020 210

काठमाडौं। कोरोना महामारीका कारण संकटमा परेर स्वदेश फर्किएका नेपाली श्रमिकले नेपाल फर्किँदा भएको खर्च फिर्ता पाउने भएका छन्। सामाजिक सुरक्षा, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा गएर कोरोनाका कारण रोजगारी गुमाई स्वेदश फर्किन बाध्य भएका श्रमिकले नेपाल आउँदा गरेको खर्चको सोधभर्ना गरिने बताएका छन्।

डिसी नेपालको मजदुर मञ्चसँग कुरा गर्दै मन्त्री यादवले त्यसरी फर्किएका नेपालीले भएको खर्चको विल वैदेशिक रोजगार विभागमा बुझाएमा सोधभर्ना गर्ने सरकारले निर्णय गरेको जानकारी दिए।

यसअघि सरकारले वैदेशिक रोजागरीका क्रममा समस्या परेकाहरुका लागि उद्धार उडान भने पनि उनीहरु आफैले सम्पूर्ण खर्च ब्यहोरेका थिए। तर, सर्वोच्च अदालतले विदेशमा संकटमा परेका नेपालीहरुको निःशुल्क उद्धार गर्न सरकारलाई आदेश दिएपछि सरकारले हालै निर्देशिका बनाएर कार्यान्वयनको तयारी गरेका छ।

तर हालसम्म निःशुल्क उद्धारबाट नेपाली ल्याइएको छैन। मन्त्री यादवले यही भदौ ८ गते विभिन्न मुलुकबाट ८६ जनाको निःशुल्क उद्धार गर्नका लागि ३० लाख रुपैयाँ पठाइएको जानकारी दिए।

मन्त्री यादवले हाल नेपाल फर्किन चाहेन नेपाली श्रमिकको संख्या १ लाख २५ हजार रहेको बताए। उनले खाडी र मलेसिया गरी आठ मुलुकमा मात्र ८३ हजार ४८७ जना नेपालीको तत्काल उद्धार गर्नुपर्ने जनाए। उनका अनुसार यूइउमा ३७ हजार बढी, कतारमा १३ हजार, ओमानमा १ हजार ८०२, मलेसिया ९ हजार ३२०, साउदीको रियादमा १६ हजार ७७७ र जेद्दामा २ हजार ६६०, बहराइनमा ६१३ र कुवेत ५ हजारभन्दा धेरै नेपालीहरु स्वदेश फर्किने तयारीमा रहेको बताए।

 

प्रतिकृया दिनुहोस्