Tuesday, June 22

चीन र नेपालसँगको त्रिदेशीय सीमामा भारतले हवाइ सेना ल्यायो

September 12, 2020 511

काठमाडौं। भारतीय वायुसेनाले नेपाल, चीन र भारतको त्रिदेशीय सीमा क्षेत्र नजिकै आफ्नो सक्रियता बढाउने भएको छ । भारतको उत्तराखण्ड राज्यले भारतीय वायुसेनालाई यस क्षेत्रमा ‘एयर डिफेन्स राडार’ र ‘एड्भान्स ल्याण्डिङ ग्राउण्ड’ निर्माण गर्नको लागि जमिन उपलब्ध गराउने भएको छ ।

भारतको केन्द्रीय एयर कमाण्डका एयर अफिसर कमाण्डिङ इन चिफ एयर मार्शल राजेश कुमारले शुक्रबार उत्तराखण्डका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतलाई भेटेर यस विषयमा आग्रह गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । एयर मार्शल राजेश कुमारले दुई छिमेकी देश नेपाल र चीनको सीमा नजिकै रणनैतिक महत्वका संरचना निर्माणका लागि गरेको आग्रह मुख्यमन्त्री रावलले स्वीकार गरेको समाचारमा जनाइएको छ ।

मुख्यमन्त्री रावतको कार्यालयले दिएको जानकारी अनुसार भेटमा देहरादून र पन्तनगरको विमानस्थलको विस्तारको लागि पनि विस्तृतमा कुरा भएको थियो । यसबाहेक पिथौरागढ एयरस्ट्राइपको विस्तारको बारेमा पनि कुरा भएको छ । पिथौरागढ नेपालको बैतडी जिल्लासँग जोडिएको छ । यसबाहेक एयर मार्शल कुमारले अल्मोडा जिल्लाको चौखुटियामा पनि एयरस्ट्राइप निर्माणका लागि पनि सहयोग मागेका थिए । एयर मार्शल कुमारले पिथौरागढको चकोली र उत्तरकाशी क्षेत्रको जमिन एयर डिफेन्स राडार स्थापनाको लागि उपयुक्त भएको बताएका थिए ।

एयर मार्शल कुमारले अहिलेको परिस्थितिलाई हेर्दा उत्तराखण्डजस्ता फ्रन्टायर क्षेत्रमा राडार र एयरस्टइप हुनु जरुरी भएको बताएका थिए । छलफलपछि उत्तराखण्डका मुख्यमन्त्री रावतले अधिकारीहरुलाई एक जना अधिकारीलाई यी परियोजनाको नोडल अफिसरको रुपमा नियुक्त गर्न निर्देशन दिएका छन् । नोडल अफिसरले यी सबै परियोजनाको लागि उपयुक्त स्थानको खोजीका साथै आवश्यक अन्य सबै प्रक्रिया पूरा गर्ने बताइएको छ ।

रेभेन्यू सचिव सुशील कुमारका अनुसार डिफेन्स राडार स्थापनाको लागि अल्मोडा जिल्लाको भैंसौलीमा स्थानको पहिचान गरिसकिएको छ । अन्य क्षेत्रहरुको पनि छिटै पहिचान गरेर एयरफोर्स अधिकारीलाई जानकारी दिइने उनले बताए । बैठकमा सहभागी नागरिक उड्डयन सचिव दिलिप जवालकरले पन्तनगर, जोली ग्रयान्ट र पिथौरागढको अहिलेको अवस्थाबारे एयरफेर्सलाई बताएका थिए । यसअघि मुख्यमन्त्री रावतले केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहसँग पनि कुरा गरेका थिए जतिबेला चौखुटियामा नयाँ एयरस्ट्राइप निर्माणको लागि स्वीकृति दिइएको थियो ।

प्रतिकृया दिनुहोस्