Sunday, June 20

किबी खेतीमा पाटनका किसानको आकर्षण

September 13, 2020 493

भदौ २८, २०७७ बैतडी : राम्रो आम्दानी हुन थालेपछि पाटन नगरपालिकाका विभिन्न स्थानका किसान किबी खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्य खेतीभन्दा किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानको आकर्षण बढ्दै गएको हो। पाटन नगरपालिका–१० जजट्टाका पदमराज भट्ट र वडा नम्बर ८ का नरबहादुर विष्टले बारीमा रोपेको किबीमा राम्रो उत्पादन भएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए। बजारमा किबी फलको माग भएकाले किसानलाई सजिलो भएको अवस्थी बताउँछन्। ‘किबी धेरै वर्षसम्म फल दिने विरुवा हो। यसबाट किसानहरुलाई जीविकोपार्जनमा सहयोग पुग्छ,’ उनले भने, ‘एकै बोटमा धेरै फल्ने भएकाले किसानहरुलाई यसले फाइदा पुर्याउँछ।’ अन्न बालीको तुलनामा आम्दानी बढी हुने र बजारीकरणका लागि पनि सजिलो हुने भएपछि किसानहरु किबी खेतीतर्फ आकर्षित बनेका हुन्। अन्य खेतीभन्दा किबीबाट राम्रो आम्दानी हुने भएपछि आफूले किबी खेती शुरु गरेको किसान पदमराज भट्टले बताए। आफ्नै लगानीमा किबी खेती शुरु गरेको र अहिले १२ वटा बोटले फल दिएको उनको भनाइ छ। किबी खेती विस्तारका लागि सहयोग गर्न नगरपालिकासँग आग्रह समेत गरिएको भट्टले बताए। नगरपालिकाका अन्य ठाउँका केही किसानहरुले पनि किबी खेती शुरु गरेका कृषि शाखा प्रमुख अवस्थीले बताए। किबी फल प्रतिकिलो ५०० देखि ६०० रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिए। किबीको फल कात्तिकदेखि मंसिरसम्म टिप्न योग्य हुने गरेको छ। नगरपालिकाले पनि यस वर्ष किबी किसानलाई केही सहयोग गर्ने तयारी गरिरहेको कृषि शाखा प्रमुख अवस्थीले बता । किबी खेतीतर्फ आकर्षित भएका किसानलाई वडा कार्यालयले पनि सहयोग गर्ने वडाअध्यक्ष देवेन्द्र कुँवरले बताए। किबीको माग ठूल–ठूला होटलमा बढी माग हुने गरेको छ। यस फलमा भिटामिन सी, इ, के र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी हरने विज्ञहरू बताउँछन्

प्रतिकृया दिनुहोस्