Sunday, June 20

महामारीमा विनिशाको मानवसेवा : भोका मानिसहरूलाई घरमै पाकेको खाना !

September 20, 2020 253

काठमाडौं : मुलुकलाई कोरोना महामारीले लपेटेपछि धेरैको रोजगारी गुमेको छ। भोका पेटहरूमा अन्‍न नपरेको धेरै भइसक्यो। पेटभरी खान नपाएकाहरूको संख्या गनिसाध्य छैन। सुत्केरी आमादेखि कलिला बाबुनानीहरू भोकले छट्पटाइरहेका खबर सुन्न‍ुपर्दा अभाव भोगेका र महसुस गरेका जो कसैको मन गाँठो परिरहेको छ। काठमाडौं सहर र टोल-टोलमा भोको पेट कसेर हिँडिरहेका मानिसको लर्को देखिन्छ। मानिसले आफ्नो परिचय संकटमा दिन्छ या त सबैभन्दा बढी खुसीको क्षणमा। शहरमा हुने खानेहरू त धेरै छन्‌, तर हुँदा खानेहरूको भोक मेटाउन लागिपर्ने हुनेखानेहरू निकै कम छन्‌। सेवा गर्दा मिल्ने आनन्द भोग्ने तरिका र ढंग सबैसँग कहाँ छ र ! तर, विनिशा श्रेष्ठ यतिखेर खानेकुरा लिएर सडकतिर लागेकी छिन्‌ र मानवीय सेवाभावबाटै आनन्द महसुस गरिरहेकी छिन्‌। शनिबार मध्याह्न बौद्ध गेट अगाडि बसेका मानिसहरूलाई खाना खुवाउँदै गरेको अवस्थामा भेटिइन्‌‌ श्रेष्ठ। उनी लकडाउन शुरू भएदेखि उपत्यकाका विभिन्न स्थानमा पुगेर भोकाहरूलाई खाना खुवाउने काम गरिरहेकी छिन्। उनको तीन जनाको समूहमा सपना र अर्का एक साथी पनि छन्। लकडाउनका कारण दैनिक काम गरेर खाने मजदुरहरूको रोजगारी गुमेको छ। काम नभएका र दुई छाक खान मुस्किल परेकाहरूका लागि खाना खुवाउने काम गर्न सकिन्छ भन्ने उद्देश्यले उनले अभियान शुरू गरेकी हुन्‌। अहिलेसम्म यो अभियानमा ६ सय भन्दा बढीलाई खाना खुवाइसकेको उनी बताउँछिन्। ‘साल लिफ’ नामक संस्थाबाट सडक र चोकमा खाना खान नपाएर बसेकालाई खुवाउने काम गरिरहेको उनले बताइन्। उनी शुरूवाती चरणमा साथीहरूले खाना खुवाउने कार्यक्रमा सहभागी भएकी थिइन्। अरुले खाना खुवाइरहेको देख्दा ‘यो राम्रो काम हो’ भने हामी आफैं किन नगर्ने भनी श्रेष्ठले भोकाहरूलाई आफ्नै पहलमा खाना खुवाउन शुरू गरिन्‌। विनिशाको समूहले स्वयम्भू, बानेश्वर, पाटन, मंगलबजार र ललितपुर महानगरपालिकाको १६ र ११ वडाका विभिन्न स्थानमा रहेका मानिसहरूलाई खाना खुवाइसकेको छ। दैनिक दुई बोरा चामल र विभिन्न तरकारी पकाउन २ देखि ३ घण्टाको समय लाग्ने गरको उनले बताइन्। ‘शुरू-शुरूमा आफ्नै लगानी गरेर खाना खुवाउने काम गरेको थियौं। पछि बिस्तारै आफन्त तथा साथीहरूले सहयोग गर्न थाल्नुभयो, अहिले पनि खाना खुवाइरहेका छौं,’ श्रेष्ठले भनिन, ‘बिहानै बजार गएर किनमेल गरी समूहमा मिलेर खाना बनाउने काम गर्छौं। घरमा बनाएर भोकाएका पेटलाई खाना खुवाउने काम गरिरहेका छौं। बाहिर किनेको भन्दा स्वस्थ्य हुने भएकोले घरको खानालाई प्राथमिकतामा राखेको छौं।’ सडकमा बस्ने र आवास नभएकाले भोकै बस्नु नपरोस् भनेर यस्तो अभियान चलाइरहेको उनले सुनाइन्। ‘हामी हुनेले खान्छौं, तर नहुनेको लागि त अझै २ छाक खानलाई समस्या भइरहेको छ,’ उनले भनिन्‌, ‘खुवाएर र दिएर कहिल्यै आफूसँग भएको सकिदैँन भनेर खाना खुवाउने अभियान चलाएका छौं। नहुनेलाई पो खुवाउन सक्नु पो सेवा हो, भोकै बसेका मानिसलाई एक छाक भएपनि खुवाउन सक्दा संसारकै सबैभन्दा फराकिलो आनन्द प्राप्त हुन्छ।’ ‘राम्रो काममा सबैले सहयोग गर्छन्’ अहिलेसम्म खाना खुवाउँदा ८० हजार रुपैयाँ नगद खर्च भइसकेको छ। हुनेले चामल र तरकारी दिएर सहयोग गरिरहेका छन्। राम्रो काम गर्दा सबैले सहयोग गर्ने उनको अनुभव छ। श्रेष्ठ भन्छिन्, ‘हामी महिला उद्यमी पनि हौं। काम गरिरहेका मानिसले केही समय भोकै बसेका मानिसलाई खाना खुवाउँदा हामीसँग भएको सम्पत्ति सकिँदैन, सक्नेले सेवा गरौं, नसक्ने साथ र सहयोग गरौ।’ लकडाउन र निषेधाज्ञा सकिएपनि कोरोना महामारी सकिएको छैन। सडक र सार्वजनिक स्थानमा दुई छाक खान नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको उनी बताउँछिन्। केही दिनसम्म खाना खुवाउने काम निरन्तर जारी रहने उनले जानकारी दिइन्‌।

प्रतिकृया दिनुहोस्