Wednesday, April 21

सधैँ घरमा थुनेर राख्‍न सकिँदैन, आफैँ सचेत हुनुपर्छ

July 23, 2020 86

साउन ८, २०७७ काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ। स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ७० छ। मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको दर ७०.१० प्रतिशतमा झरेको छ। सरकारले लकडाउन खुलाएसँगै सवारीसाधन र सर्वसाधारणको चहलपहल बढ्न थालेको छ। के नेपालमा अब कोरोनाको जोखिम साँच्चै घटेकै हो त? यी र यस्तै विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्राडा. जागेश्वर गौतमसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानीको सम्पादित अंशः संक्रमितको दर घट्दै गएको छ। अब नेपालमा कोरोना नियन्त्रणतर्फ गएको हो भन्न मिल्छ? केही दिनदेखिको प्रमाणले नै कोरोना नियन्त्रणतर्फ गएको बताइरहेको छ। एक दिन १६.८ प्रतिशत भएको थियो। त्यो सबैभन्दा उच्च थियो। त्यसपश्चात ९ देखि १२ प्रतिशतको दरमा थियो। यो घटेर अहिले २-४ प्रतिशतमा झरेको छ। कोरोनाको दर घट्नेबित्तिकै नियन्त्रणमा जाँदैछ भन्न मिल्छ र? सबैजना क्वारेन्टाइनमा बसेका थिए। यो रोग नेपालबाट सुरु भएको होइन। यहाँ त भारत र अन्य मुलुकबाट आएका नागरिकमा देखिएको हो। तिनीहरूको परीक्षण गर्दा संक्रमणको दर उच्च देखिएको थियो। अहिले तिनीहरूको संख्या कम हुँदै गएको छ। साथै समुदायका मानिसको पनि परीक्षण गरिरहेका छौँ। यसैलाई आधार मानेर पनि संक्रमणको दर घटेको नै हो। यसलाई सकारात्मक मान्न सकिन्छ। सरकारले लकडाउन हटाएको छ भने भारतलगायत अन्य मुलुकबाट मानिस आइरहेका छन्। यसले जोखिम बढाउँदैन? लकडाउन हटे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्छ। मास्क अनिवार्य भनेका छौँ। राज्यका तर्फबाट सक्दो काम भइरहेको छ। अब नागरिक आफैँ सचेत हुनुपर्छ। सरकारले जबरजस्ती कसैलाई घरमा थुनेर राख्‍न सक्दैन। बाहिरबाट आएका मानिसलाई व्यवस्थापन गर्नुपर्छ। त्यसको लागि स्थानीय सरकारदेखि स्वयं नागरिक सचेत हुनुपर्छ। भारतबाट दैनिक १५ सय २ हजार मानिस आइरहेका छन्। हवाई मार्गबाट १ हजार देखि १५ सयसम्म मानिस आइरहेका छन्। दैनिक ३ हजार मानिस अहिले पनि नेपाल भित्रिएका छन्। विदेशबाट आएका मानिसको कति दिनमा परीक्षण हुने गरेको छ? क्वारेन्टाइनमा ५ दिन बसेपछि उनीहरूको परीक्षण हुने गर्छ। सरकारले पिसिआर परीक्षण गर्दैगर्दा र क्षमता हुँदा पनि निजीलाई किन दिइयो? सरकारको पहिलो प्राथमिकता मुलुकभर पिसिआर परीक्षण केन्द्र बनाउने हो। जनसंख्याको समानुपातिक वितरणअनुसार ल्याब स्थापना गरिएको छ। काठमाडौंको जनसंख्या देशभरको ६ भागको १ भाग यहीँ छ। त्यसैले यहाँ बढी परीक्षण केन्द्र भएको हो। विदेशी नियोग छन्। विदेशीहरू लाइन लागेर परीक्षण गर्दैनन्। पैसा लिएर परीक्षण होस् भनेर सहजताको वातावरण बनाइएको हो। सबैभन्दा बढी संक्रमण र मुक्त हुने कुन प्रदेश र जिल्लालाई मान्न सकिन्छ? सरकारले त्यसरी वर्गीकरण गरेको छैन। भारतसँग जोडिएको पूर्व मेचीदेखि महाकालीसम्मका प्रदेश र जिल्ला सबै संक्रमणको उच्च जोखिममा रहेका छन्। जनसंख्या चापका हिसाबले सबैभन्दा बढी जोखिम काठमाडौं उपत्यका छ। पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कसरी व्यवस्थापन भइरहेका छन्? सुरुवाती चरणमा संक्रमित देखिनासाथ अस्पतालमा लगेर राख्‍न थालिएको थियो। अहिले परिवर्तन भएको छ। संक्रमितमा लक्षण देखिन साथ तिनलाई अस्पताल भर्ना गर्नुपर्छ भन्ने छैन। तिनीहरूको लक्षण कस्तो छ त्यो सबै विचार गरेर मात्र लाने गरिएको छ। सबैलाई अस्पतालमा राख्‍न जरुरी छैन। सरकारले अस्पतालमा सुरक्षित हुन्छन् भनेर राखिएको हो। किनभने अस्पतालमा बेडदेखि डाक्टर सबै हुन्छन्। लक्षण नभएकोलाई आइसोलेसनमा राख्‍न सकिन्छ जहाँ राख्दा अन्य मानिसमा रोग सर्न सक्दैन। धेरै संक्रमित भएका जिल्लामा त्यसरी नै व्यवस्थापन गरिएको छ। स्वेच्छाले स्वास्थ्यकर्मीको निगरानीमा घर बस्न चाहनेलाई घरमा बस्न सक्ने व्यवस्था पनि उपलब्ध गराएका छौँ। सरकारले नेपाल संक्रमण र जोखिममुक्त भयो भन्‍ने दिन कहिले आउला? जबसम्म संसारबाट कोरोनाको अन्त्य हुन्न तबसम्म भन्न सक्ने अवस्था आउँदैन। जबसम्म कोरोना रहन्छ। तबसम्म उच्च जोखिममा नै छ भनेर बुझ्दा हुन्छ। जबसम्म यसको औषधि बन्दैन तबसम्म जोखिम रहिरहन्छ। कोरोनाको सामान्य लक्षण भएका मानिसको परीक्षण गर्दा समस्या भएको छैन? ‘डब्लु एच ओ’ को मापदण्डअनुरूप सामान्य लक्षण हराएको ३ दिनपछि र क्वारेन्टाइनमा बसेको छ भने परीक्षण नगर्दा पनि हुन्छ भनेको छ। तर, लक्षण देखिएपछि क्वारेन्टाइनमा राख्छौँ। १४ दिनपछि ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ। क्वारेन्टाइनमा बसेर गएपछि घरमा कोरोना पोजेटिभ देखिएका छन् तर ती व्यक्तिबाट अन्‍यमा कोरोना सर्दैन। भारत र तेस्रो मुलुकबाट आएका मानिसमा मात्र कोरोना देखिएको छ। तिनीहरूलाई किन उतै राख्‍न सरकारले पहल गर्न सकेन? कोरोना महामारीको बेला भारत र नेपाल सरकारबीच आ-आफ्नो देशमा रहेका नागरिकलाई व्यवस्थापन गर्ने सहमति भएको थियो। नेपाल सरकारको तर्फबाट भारतमा रहेका नेपालीलाई व्यवस्थापन गर्नलाई भनिएको थियो। सुरुमा यो सहमति कायम गरिएको थियो। भारत सरकारले त्यसलाई अलिक बेवास्ता गरिएको छ। लकडाउन खुकुलो गरेकोले पनि भारतबाट नेपाल छिरेपछि संक्रमण बढेको हो। कस्ता मानिस जोखिममा हुन्छन्? स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, बैंकका कर्मचारी, अस्पतालमा काम गर्नेहरू, मधुमेह, किड्नी, क्यान्सर, मुटुका बिरामीहरू बढी जोखिममा हुन्छन्। ज्येष्ठ नागरिकमा बढी जोखिम हुन्छ। परीक्षणको सामग्री सकिएको हल्ला छ, कुनै समस्या त छैन? एक ठाउँमा ढिलो सामान पुग्यो भने मुलुकभरको परीक्षण केन्द्रमा सामग्री सक्यो भनेर हल्ला हुन्छ। हामीसँग अहिले पनि तत्काल डेढ लाख मानिसको परीक्षण गर्ने किट छ। अहिलेसम्म ३ लाखको परीक्षण भइसकेको छ। अब ४ लाखको परीक्षण गर्ने तयारी अवस्थामा छौँ। अहिले समस्या छैन। प्रसूति गृहबाट स्वास्थ्य मन्त्रालय आएपछि आफ्नो जिम्मेवारीमा कत्तिको चुनौती थपिएको महसुस गर्नुभएको छ? नयाँ ठाउँमा जाँदा केही न केही चुनौती अवश्य हुन्छ। तर,त्यसलाई व्यवस्थापन गर्दै जानुपर्छ भन्ने लाग्छ। त्यो भनेको काम गर्ने हो। फेरि यो काम मैले ६ वर्ष अगाडि गरेको पनि थिएँ। त्यसबेला संरचना फरक थिए। राज्य पुन:संरचना भएकोले गर्दा शाखाहरू यताउता भएका छन्। विगतभन्दा केही फरक काम भएको छ। कोभिडको महामारीको बेला यहाँ आएको छु। चुनौतीको रुपमा भन्नुपर्दा धेरै चुनौती छ। नेपालको नागरिक भएको हैसियतमा यसपटक स्वास्थ्य संरचना कस्तो देख्नुभयो? कोरोना महामारी भएपछि विश्वको स्वास्थ्य संरचना कस्तो रहेछ भनेर बहसको विषय बनेको थियो। कोरोना नेपालको लागि मात्र होइन कि विश्वको लागिसमेत नयाँ हो। नयाँ रोग भएकोले पनि केही कठिन भएको हुन सक्छ। राज्य पुनःसंरचना भर्खरै भएकोले कतिपय स्थानमा कर्मचारी नपुगेको पनि र अस्पतालको व्यवस्थापनमा केही कमजोरी छन्। संरचनागत हिसाबमा केही कमजोरी अवश्य छ। नेपालमा मात्र होइन कि संसारभर स्वास्थ्य र शिक्षाको संरचना कमजोर थिए। अहिले पनि धेरै मुलुकमा छन्। नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन। अर्को कुरा संकटको बेला निजी अस्पतालभन्दा सरकारी अस्पताल चाहिँदो रहेछ भन्ने आभास दिलाएको छ।

प्रतिकृया दिनुहोस्